आउँदो स्थानीय तह निर्वाचनमा एमालेले आफ्नो ओजन र शक्ति नापेरै देखाईदिने

मंगलबार, कात्तिक १०, २०८३

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आउँदो स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्ने बताएका छन् । यही वर्ष मंसिर २ र ३ गते आयोजना गर्न लागिएको राष्ट्रिय भेलाको तयारी बैठकमा मंगलबार (कात्तिक १०) उनले एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय भेलामार्फत पार्टीपंक्तिलाई उत्साहित र सक्रिय बनाउँदै राजनीतिक चुनौतीको सामना गर्न तयार पारिने उनले बताए । “सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” उपाध्यक्ष पौडेलले भने । 

बैठकमा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता–कार्यकर्तालाई सक्रियतापूर्वक परिचालन हुन आग्रह गरे । भेलाको सन्देश पार्टीपंक्ति र जनस्तरसम्म पुर्‍याउन व्यापक प्रचारप्रसारमा जुट्न पनि उनले नेता–कार्यकर्तालाई आग्रह गरे । 

राष्ट्रिय भेलामा कुल तीन हजार १६४ जनाको सहभागिता रहने पार्टीका सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए । भेलामा ३४६ केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुने उनले बताए ।

यस्तै, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहनेछ ।

पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एकका दरले एक हजार ५०६ जना सहभागी हुनेछन् । संघीय संसद्का ३५, प्रदेशसभा सदस्य १५५, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिकाका अध्यक्ष १९६ र उपमेयर तथा गाउँपालिकाका उपाध्यक्ष ३४२ जना सहभागी हुनेछन् । जनसंगठनबाट ९६ जनाको सहभागिता रहने एमालेले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १७:१४
प्रतिक्रिया दिनुहोस्