सरकारले तत्काल आइजिपी नहटाउनेमा माननीय खुश्बु पूरै ढुक्क 

बिहीबार, कात्तिक १२, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरिक्षक(आइजिपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छिन्।

सार्वजानिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि ओलीले सार्वजनिक भए जसरी सरकारले आइजिपी नहटाउने दाबी गरेकी हुन्।

निर्वाचन प्रहरीको पोशाक तथा जुक्ता खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गरिरहेका छ। छानबिन समितिको सदस्यसमेत रहेकी ओलीले उक्त उपसमितिको प्रतिवेदन आउनु अगाडी नै सरकारले हस्तक्षेप गर्न नमिल्ने जनाएकी हुन्।

सञ्चारमाध्यममा आएका समाचार र उपसमितिको बैठकबीच कुनै सम्बन्ध नरहेको ओलीले उल्लेख गरिन्।

‘नेपालमा एकदमै धेरै सुरुमै मिडिया ट्रायल गर्ने एउटा प्रवृत्ति नै छ । तर त्यो समाचार र यो हाम्रो बैठकको कुनै सरोकार छैन । यो एउटा पूर्वनिर्धारित बैठक थियो । संयोगले यहि समाचारहरु प्रकाशित भइरहेको समयमा प¥यो तर यसको र त्यसको केही पनि सरोकार छैन, उनले अगाडि भनिन्, ‘मलाई जहाँसम्म लाग्छ, सरकारले त्यसरी हस्तक्षेप गर्ने गरि कुनै पनि निर्णय गर्छ जस्तो मलाई लाग्दैन । किनभने सरकारले नै हामीलाई एउटा अध्ययन गर्ने जिम्मेवारी दिएर यता अध्ययन समिति गठन गरेर आफै फेरी हस्तक्षेप गरेर निर्णय गर्छ जस्तो मलाई लाग्दैन । आधिकारिक रुपमा नआएको कारणले गर्दा मैले यसमा विशेष टिप्पणी गर्न चाहिन ।’

सांसद ओलीले अध्ययन अनुसन्धानअघि नै निष्कर्षमा पुग्नु न्यायसंगत नहुने बताइन्। उपसमितिले निर्वाचन पोशाकसम्बन्धी अध्ययनका क्रममा कुनै पनि व्यक्ति वा पक्षलाई दोषी ठहर गर्ने वा उन्मुक्ति दिने पूर्वधारणाबाट मुक्त भएर निष्पक्ष अध्ययन गर्ने प्रतिबद्धता जनाइन्।

उपसमितिले कात्तिक ३० गतेभित्र अध्ययन सक्ने समितिका अर्का सदस्य मनिष झाले बताए।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १४:५९
प्रतिक्रिया दिनुहोस्