रवि र वालेन्द्रले हात्तीगौडा चार घण्टा सम्म गोडा पसारेरै के-के विषयमा गरे कुरा ?

बिहीबार, कात्तिक १२, २०८३

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)बीच भएको भेटमा नेपाल प्रहरीका प्रमुख आइजिपी दानबहादुर कार्कीलाई हटाउनेदेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणसम्मका विषयमा छलफल भएको छ।

बुधबार हात्तीगौडास्थित लामिछाने निवासमा चार घण्टा लामाे छलफलमा उठेका विषयहरूको आधिकारी जानकारी सार्वजनिक भएको छैन।

तर दुईपक्षसँग आबद्ध विभिन्न स्रोतकाअनुसार फागुन २१ गते सम्पन्न आम निर्वाचनमा निर्वाचन प्रहरीका लागि बिना टेण्डर खरिद गरिएको जुत्ता, युनिफर्म र अन्य सामग्री खरिद बिक्रीमा भएको धाँदलीबारे उच्चस्तरीय छानबिनलाई रोक्न नमिल्ने जानकारी प्रधानमन्त्री शाहले पार्टी अध्यक्ष लामिछानेलाई दिएका छन्।

प्रधानमन्त्री शाह लामिछाने निवास पुगेर विभिन्न विषयमा चार घण्टा लामो छलफल गरेका थिए। उक्त धाँदलीमा छानबिन भएलगत्तै आइजिपी दानबहादुर कार्की निलम्बित हुने भएकाले नयाँ आइजिपी नियुक्तिबारेमा पनि अड्कलबाजी हुन थालेको छ।

स्रोतकाअनुसार नयाँ आइजिपीको नामबारे छलफल नभए पनि प्रधानमन्त्री सचिवालयले केन्द्रीय अनुसन्धान विभागमा एआइजी डा. मनोज केसीको पक्षमा गृहकार्यसमेत सुरु गरिसकेको बताइन्छ।

छानबिनको दायरामा सुशीला कार्की नेतृत्वको चुनावी सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल पनि पर्ने देखिन्छ। गृहमन्त्री सुधन गुरुङले यस विषयलाई पार्टीभित्र र प्रधानमन्त्री तहमा पनि उठाउँदै आएका छन्।

दुईबीचको भेटघाट दुई नेताबीच बढ्दै गएको दुरी र हालै लामिछानेको भारतमा भएको ‘धार्मिक भ्रमण’को पृष्ठभूमिमा भएको छ। प्रधानमन्त्री शाह मंसिरको प्रारम्भमा दिल्ली जाने तयारी भइरहँदा लामिछाने निकट मानिने अर्थमन्त्री तथा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले दिल्लीमा नेपाल भारत सम्बन्धबारे दिएको अभिव्यक्तिबारे पनि पार्टीमा विवाद उत्पन्न भएको छ।

पार्टी सभापति लामिछानेविरुद्धको अदालतमा विचाराधिन दोहोरो नागरिकता सम्बन्धि मुद्दा फिर्ता गर्न केही मन्त्रीहरू सक्रिय रहेको तर त्यस गर्नु उपयुक्त नहुने धारणा रास्वपा सांसदहरूले नै अनौपचारिकरुपमा उठाउँदै आएका छन्।

स्रोतकाअनुसार यो विषयबारे दुई शीर्ष नेताबीच कुरा उठेको स्पष्ट नभए पनि यो मुद्दा फिर्ता लिनेपक्षमा प्रधानमन्त्री छैनन्।

हालै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा गिरफ्तार भएपछि उनको कल टिटेल्सबाट पार्टीभित्रै एउटा समूह राणासँग सम्पर्कमा रहेको र बालेन्द्र सरकार ढाल्ने प्रपञ्चमा विभिन्न राजनीतिक, प्रशासनिक तथा विचौलिया शक्तिहरू पनि सक्रिय रहेको निष्कर्षमा सरकार पुगेको छ। सरकार ढाल्नेसम्को परिस्थिति उत्पन्न भए कसरी जुध्ने भन्नेबारे पनि बुधबारको बैठकमा कुरा उठेको स्रोत बताउँछ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १४:५२
प्रतिक्रिया दिनुहोस्