सोसल मिडिया
युनिकोड
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उच्च तहका बिचौलिया र भ्रष्टाचारको जालो अन्त्य नभै सुशासन र समृद्धि सम्भव नभएको बताएका छन् ।
राज्यको क्यान्सरको रूपमा मौलाएको उच्च तहका बिचौलियाहरूको जालो च्यात्न युवा नेतृत्वको सरकारले गरेको प्रयास सराहनीय रहेको भन्दै उनले यो अभियानलाई तार्किक निष्कर्षसम्म पुर्याउन सुझाव दिएका छन् ।
शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले राजनीति, प्रशासन, न्यायालय, सुरक्षा अङ्ग र बाह्य शक्तिकेन्द्रको ‘सेटिङ’मा हुने खरबौंको अपचलनले अर्थतन्त्र मात्र नभई समाजको नैतिक धरातल नै ध्वस्त पारेको बताएका हुन् ।
‘माथिदेखि तलसम्म संस्थागत बन्दै गएको भ्रष्टाचारको जालो जरैदेखि नउखेली सुशासन सम्भवै छैन,’ उनले लेखेका छन्, ‘सुशासन विना समृद्धिको नारा सम्धीको गफ मात्र हुनेछ ।’
उनले यो माथिबाट सुरु गरिएको भ्रष्टाचार विरोधी अभियानलाई तार्किक निष्कर्षमा पुर्याउन सूचना, कानुन, अनुसन्धान, अभियोजन र मुद्दा फर्छ्यौट लगायत सबै प्रक्रियागत क्षेत्रमा पर्याप्त ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । साथै, उनले जुनसुकै प्रकारको दबाबका सामुन्ने पनि यो सरकार नझुकोस् भन्ने कामना समेत गरेका छन् ।