नयाँ सचिवले विस्थापित गरेपछि आठ दिनमै सचिवको सरुवा

बिहीबार, असोज २२, २०८३

सरकारले आठ दिनमै सचिवको सरुवा गरेको छ। असोज १३ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेका सचिव भूपाल बराललाई त्यसको आठ दिन पछि असोज २१ गते बसेको बैठकले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ। 

जेनजी आन्दोलनको आँधीले बढारिएको ओली सरकारले बराललाई २०८२ जेठ १३ गते सचिवमा बढुवा गरेको थियो।  सचिव बढुवापछि उनको वाग्मती प्रदेशको प्रमुखसचिवमा पदस्थापन भएको थियो। करिब साढे ५ महिना बागमती प्रदेशको प्रमुख सचिव भएर जेन-जी सरकारका पालामा अर्थ मन्त्रालयको राजस्व सचिव भएका आएका बराललाई गण्डकी प्रदेशको प्रमुखसचिव बनाएर पठाईएको थियो। 

गण्डकी प्रदेशमा साढे ३ महिना बसेर संघमा फर्किएका उनलाई आठ दिनमै अड्डासार गरिएको छ। सतर्कता केन्द्रबाट योजना आयोग पठाईएका उनले प्रदेशमा ९ महिना बिताएका छन्। गण्डकीमा सचिव बढुवा भएकी आभा श्रेष्ठको पदस्थापन हुँदा सतर्कता केन्द्र आएका बराललाई केन्द्रमा पनि नयाँ सचिवले विस्थापन गरिदिएका हुन्। चक्रबहादुर बुढा सचिवमा बढुवा भएर सतर्कता केन्द्रमा पदस्थापन भएपछि बराल आयोग पुगेका हुन्।  आयोगका सचिव रविलाल पन्थ असोज १९ देखि घर गएकाले आयोगमा सचिव खाली थियो। 
 

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  १२:३९
प्रतिक्रिया दिनुहोस्