सोसल मिडिया
सम्पर्क
युनिकोड
संघीय संसद्को सार्वजनिक लेखा समितिले सुनकोसी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन उपलब्ध गराउन निर्देशन दिएको छ।
मंगलबार बसेको समितिको बैठकले जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि निर्देशन दिएको हो। समितिका सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको बताए।
‘मधेस अन्नको भण्डार हो। हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरू जति ढिलो हुन्छन्, त्यसबाट मधेसलाई मात्र नभई सिंगो नेपाललाई नै क्षति पुग्छ,’ उनले भने।
यससँगै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने खड्काले जानकारी दिए। छलफलका क्रममा सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना ढिलाइ हुँदा त्यसको असर मधेस प्रदेशमा मात्र सिमित नभई सिंगो देशलाई पर्ने बताए।
‘अहिलेसम्म हामीले ठेक्कापट्टा तथा टेन्डर रद्द हुँदा त्यसबाट हुने आर्थिक नोक्सानीलाई मात्र एकांगी रूपमा हेर्ने गरेका छौँ तर जुन उद्देश्यका लागि परियोजना सञ्चालन गरिएको हो, त्यो परियोजना ढिलो हुँदा वा रद्द हुँदा त्यसको उद्देश्य प्राप्तिमा पर्ने असर र त्यसबाट हुने समग्र क्षतिको विषयमा पनि हामीले समीक्षा गर्नु जरुरी छ,’ उनले भने।
अब सार्वजनिक लेखा समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुगिने उनले बतए। ठेक्का तथा टेन्डर रद्द हुँदा हुने आर्थिक नोक्सानीलाई मात्र हेर्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
समितिले अब सम्बन्धित निकायबाट कागजात प्राप्त गरेपछि ठेक्का रद्द गर्नुको कारण, अपनाइएको प्रक्रिया तथा आयोजनामा परेको प्रभावबारे थप अध्ययन र छलफल गर्ने भएको छ।