कोशीका मुख्यमन्त्री हिक्मतलाई निचोर्न ओलीले जुटाए हिम्मत, तीलकुमारलाई थैली

बुधबार, मंसिर ९, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर पदबाट राजीनामा दिन आग्रह गरेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अप्ठ्यारोमा परेका छन् । 

उनले आफ्नो अप्ठ्यारोको विषयमा मंगलबार सत्ता सहयात्री दल नेकपाका नेताहरूसँग छलफलसमेत गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको छलफलमा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप, एमालेका सांसद रेवतीरमण भण्डारी तथा नेकपाको तर्फबाट प्रदेश इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश संयोजक हर्कबहादुर नेम्वाङको उपस्थिति थियो । बैठकमा कार्की इतर पक्षका मानिने खानेपानी तथा सिँचाइ मन्त्री तथा एमालेका केन्द्रीय सदस्य तिलचन पाठक भने केही बेर बसेर निस्किएका थिए ।

छलफलमा सहभागी एक नेताका अनुसार मुख्यमन्त्री कार्कीले आफ्नो राजीनामाको विषय आएको र अब के गर्ने भन्ने विषयमा सत्तासहयात्री दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई सोधेका थिए । जवाफमा नेकपाका नेताहरूले राजीनामा दिन नहुने र ढुक्कले सरकार चलाउनु पर्ने बताएका थिए । नेकपाका नेताहरूको साथ पाएपछि मुख्यमन्त्री कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीले मौखिक रूपमा भनेकै आधारमा राजीनामा नदिने मनस्थितिमा पुगेको उनी निकट स्रोत बताउँछ। 

तर, ओली भने कार्कीलाई निचोरेरै भए पनि हटाएरै छोड्ने मनस्थितिमा पुगेका छन् । कार्कीलाई हटाएर ओली ताप्लेजुङ्गका सांसद तीलकुमार मेन्याङ्गबोलाई मुख्यमन्त्री बनाउन चाहन्छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्