दानबहादुरको पुनर्बहाली रिटमाथि निरौला र पौडेल श्रीमानद्वारा जाँचपड्ताल

बुधबार, मंसिर ९, २०८३

प्रहरी महानिरीक्षक (आईजीपी) मा आफ्नो पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दर्ता गराएको रिट सुनुवाइ गर्न आज (बुधबार) इजलास तोकिएको छ। 

उनको रिट सर्वोच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको हो। 

यसअघि सोमबार उक्त रिट न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएकामा सर्वोच्च अदालतले प्राथमिकतामा राखेर पालो समेत आउनेगरी आज ९ गते मुद्दा प्रस्तुत गर्न आदेश दिएको हो।

त्यस दिनको आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनमा अन्तर्निहित विषयवस्तुको प्रकृति र संवेदनशीलतालाई समेतलाई विचार गर्दा प्रस्तुत रिट निवेदनको शीघ्र निर्णय गर्नुपर्ने प्रकृतिको देखिएको हुँदा पेसीमा प्राथमिकता दिई पालो समेत आउने गरी मिति २०८३/८/९ गतेलाई पेसी तोकी सोको जानकारी महान्यायाधिवक्ताको कार्यालय समेतलाई दिई नियमानुसार पेस गर्नुहोला।’

कात्तिक १८ गते सरकारले आफूलाई आईजीपीबाट हटाएपछि कार्कीले वारेसमार्फत भोलिपल्ट १९ गते नै सर्वोच्चमा रिट पेस गरेका थिए।

तर अदालतले एक दिन अध्ययन गरेर कात्तिक २० गते मात्र दर्ता गरेको थियो। तर त्यसलगत्तै तिहार बिदा सुरु भएकाले सुनुवाइमा ढिलाइ भएको हो।

रिट निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न र आफूलाई महानिरीक्षक पदमा रही कामकाज गर्न दिन अन्तरिम आदेश माग गरेका छन्।

केसीलाई नियुक्त गर्ने, दर्ज्यानी चिह्न प्रदानलगायत सम्पूर्ण निर्णय बदर गर्न पनि रिटमा उनले माग गरेका छन्। रिटको सुनुवाइमा अग्राधिकार प्रदान गर्न पनि माग गरिएको छ।  
 

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १०:५३
प्रतिक्रिया दिनुहोस्