सोसल मिडिया
सम्पर्क
युनिकोड
नेपाली कांग्रेसले शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशनको पक्षमा लागेका पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई अनुशासनको कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको केन्द्रीय कार्यसमितिको मंगलबारदेखि जारी केन्द्रीय समितिले अनुशासन समिति बनाउने बताइएको छ । एक पदाधिकारीका अनुसार अनुशासन समिति बनेपछि त्यसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई समानान्तर महाधिवेशनमा किन सहभागी भएको भन्ने पत्र काट्नेछ । त्यो पत्रको जवाफ पाएपछि मात्रै कारबाही गर्ने कि नगर्ने निर्णयमा पुगिने ती पदाधिकारीले जानकारी दिए ।
राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख, वडाध्यक्ष र सदस्यहरू देउवा समूहमा खुलेर समानान्तर महाधिवेशनमा लागिरहेका छन् । उनीहरूलाई कानुनी प्रक्रिया अनुसार पहिला स्पष्टीकरण सोधिने र जवाफ चित्तबुझ्दो नभएपछि मात्रै कारबाही प्रक्रिया अगाडि बढाउने तयारी संस्थापनको छ ।
सभापछि गगन थापाले मंगलबार केन्द्रीय समिति बैठकको सुभारम्भ गर्दै समानान्तर महाधिवेशनमा लाग्ने जनप्रतिनिधिलाई विधान अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका थिए ।
राष्ट्रिय सभा सदस्यहरू आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, खम्मबहादुर खाती, ललितजंग शाही, कृष्णप्रसाद सिटौला, जगत तिमिल्सिना तथा प्रदेश सभा सदस्यहरू कोशी प्रदेश सभाका केदार कार्की र भुपेन्द्र राई लुम्बिनी प्रदेश सभा सदस्य सरोज थापा (रोज राणा), गण्डकी प्रदेश सभा सदस्य जीत शेरचनसहितका देउवा समूहको समानान्तर महाधिवेशनमा खुलेर लागेका छन् ।
त्यस्तै स्थानीय तहका प्रमुख उपप्रमुखसहितका पनि देउवा समूहमा खुलेर लागेका छन् । उनीहरूको विषयमा अध्ययन गर्न र छानबिन गर्न जारी केन्द्रीय कार्यसमितिबाट अनुशासन समिति बनाइने ती पदाधिकारीले बताए ।