दानबहादुरको रिटमा अन्तरिम आदेश अस्वीकार, मुद्दा चाँडै वारपार

बुधबार, मंसिर ९, २०८३

प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

बुधबार न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशका मागसँग अन्तरनिहित कानुनी प्रश्नहरूको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा निरुपण र सम्बोधन हुने प्रकृतिको देखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। 

मनोजकुमार केसी कात्तिक १८ गते नै प्रहरी महानिरीक्षकमा बढुवा/नियुक्त भई कार्यभार सम्हालिसकेको देखिएको आदेशमा भनिएको छ। शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएकाले छिटो निरुपण गर्नु पर्ने इजलासको ठहर छ। 

‘प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग सम्बन्धित भई रिट निवेदनमा उठाइएका विषयवस्तुको महत्व, गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएबाट प्रत्येर्थीहरूबाट लिखित जवाफ परेपछि वा पर्ने अवधि व्यतित भएपछि ७ दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नू’, आदेशमा भनिएको छ।

यसअघि कात्तिक २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश छलफलमा झिकाउँदै लिखित जवाफ माग गरिसकेको छ। म्याद बुझेको १५ दिनभित्रमा लिखित बुझाउन भनिएको छ। विपक्षीहरु सबैले म्याद बुझिसकेका छन्। 

अब सबैको लिखित जवाफ परेपछि अन्तिम सुनुवाइका लागि सर्वोच्च प्रशासनले पेसी तोक्ने छ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १९:०७
प्रतिक्रिया दिनुहोस्