सतर्कता केन्द्रबाट भूपाललाई आयोगमा सारियो, नयाँ सचिवले कहाँ-कहाँ पाए अड्डा ?

बिहीबार, असोज २२, २०८३

सरकारले दुई सचिवको पदस्थापन र एक जना सचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवाका सहसचिव चक्रबहादुर बुढालाई र प्राविधिक सहसचिव नवीनराज सिंहलाई सचिवमा बढुवा गरेको हो। 

बैठकले राष्ट्रिय सतर्कता केन्द्रका सचिव भूपाल बराललाई राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरेको छ। बरालको केही समय अघि मात्र गण्डकी प्रदेशको प्रमुख सचिवबाट केन्द्रमा सरुवा गरिएको थियो। २०८३ असोज १३ गतेको मन्त्रिपरिषद बैठकले बरालको सरुवा गरेको थियो। सरुवा भएको आठदिनमै फेरी उनको सरुवा भएको हो।

योजना आयोगका सचिव रविलाल पन्थ सचिवको पाँच कार्यकाल पूरा गरेर घर गएपछि आयोग खाली थियो। 

बराललाई आयोगमा पठाएर बुढालाई सतर्कता केन्द्रको सचिवमा पदस्थापन गरिएको छ। पिछडिएको क्षेत्रको आरक्षणबाट चक्रबहादुर पहिलो सचिव बनेका हुन्। जाजरकोटमा जन्मे हुर्केका बुढा महिला मन्त्रालयमा कार्यरत थिए।  त्यस्तै प्राविधिक सचिवमा बढुवा भएका नवीनलाई जल तथा उर्जा आयोगमा पदस्थापन गरिएको छ। उनी उर्जा मन्त्रालयको सचिव खाने दाउमा छन्। 
 

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  १२:००
प्रतिक्रिया दिनुहोस्