सोसल मिडिया
युनिकोड
मन्त्रालयको संख्या घटाएकै समयमा नेपाल सरकारले सात नयाँ सहसचिव पाएको छ। लोक सेवा आयोगले लिएको सबै किसिमका परिक्षा छिचोलेर सात उपसचिव सहसचिवमा उक्लिन सफल भएका छन्। खुला र समावेशी प्रतिस्पर्धाबाट विभिन्न सेवाका ७ सहसचिव थपिएका हुन् ।
नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)मा खुलाबाट विजयकुमार शर्मा र टेकबहादुर वली थपिएका छन्। त्यस्तै प्रशासन सेवामा महिला कोटाबाट आरती न्यौपाने र पिछडिएको क्षेत्रबाट बसन्तबहादुर बोहरा सहसचिव भएका छन्।
त्यस्तै,नेपाल संघीय संसद् सेवा, प्रशासन समूह राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव विशाल सापकोटा बनेका छन्। लोक सेवा आयोगले सापकोटालाई संसदतिरको सहसचिव सिफारिस गरेको हो। खुला तर्फको एउटा सिटमा सापकोटा सहसचिव बन्न सफल भएका हुन्।
लेखापरीक्षण सेवाको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा नरेन्द्र सन्याल सिफारिस भएका छन्। उक्त सेवाको एक मात्र सिटमा सन्याल सहसचिव बन्न सफल भएका छन्।
उसै गरि, न्याय सेवा कानुन समूहको सहसचिवमा नुतन झा सिफारिस भएकी छिन्। मधेशी कोटाबाट झा सहसचिवमा सिफारिस भएकी हुन्।