सोसल मिडिया
युनिकोड
झन्डै तीन करोड रुपैयाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना बहालवाला उपसचिवसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आम्दानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले नगर विकास समितिका सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी र गेहेन्द्रबहादुर डाँगीविरुद्ध मुद्दा दायर गरेको छ । त्यस्तै, लेखा अधिकृत हरिबहादुर क्षत्री (दिवंगत) र सहलेखापाल खड्कबहादुर रानालाई अख्तियारले प्रतिवादी बनाएको छ ।
अख्तियारले नगर विकास समितिका तत्कालीन सदस्य सचिवहरू ढकाललाई ६४ लाख २८ हजार ४३७, तिवारीलाई एक करोड चार लाख ७१ हजार ९४२ र डाँगीलाई ७२ लाख ७८ हजार ११० बिगो कायम गरेको छ। उनीहरू तीनैजना वीरेन्द्रनगर नगरपालिकाको प्रमुख प्रशासकीय हुँदा समितिको सदस्य सचिवको भूमिकामा रहेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। ढकाल हाल वैदेशिक रोजगार विभागको निर्देशक छन् भने तिवारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशक छन्। डाँगी भने दाङको लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुन्।
उपसचिव ढकाल वैदेशिक रोजगार प्रवर्धन बोर्डमा रहँदा पनि चर्चामा आएका व्यक्ति हुन्। उनका उपर त्यहाँ हुँदा पनि कसुर गरेको आरोप छ। आफूलाई गीतकार भनेर चिनाउन रुचाउने ढकालले एकाध वर्ष अगाडी ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी नामको गीत समेत सार्वजनिक गरेका थिए। नेपाल आईडल सिजन पाँचका विजेता करण परियारको स्वर एवं गीतकार ढकालको शव्द रचना रहेको दशैं तिहार विशेष गीत २०८१ को दशैं अगाडी सार्वजनिक गरेका थिए। श्रीमती र छोरा समेतलाई अभियान गराएर सार्वजनिक गरेको गीतको चर्चाका लागि राज्यको श्रोत परिचालन गरेको उसबेला चर्चा भएको थियो।