वालेन्द्र सरकारमा सुनैसुनका साहुको जमघट, कुन मन्त्रीसँग कति छ सुन र सम्पत्ति ?

सोमबार, चैत ३०, २०८२

प्रधानमन्त्री वालेन्द्र शाहलगायतका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएको छ। अधिकांश मन्त्रीसँग सुनैसुन रहेको विवरणमा उल्लेख छ। कुन मन्त्रीसँग कति सम्पत्ति देखाइएको छ, त्यसको विवरण यसप्रकार छ।

१. प्रधानमन्त्री बालेन शाह
प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात छ। उक्त रकम फेसबुक, युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालबाट कमाएको प्रधानमन्त्रीले सम्पत्ति विवरणमा उल्लेख गरेका छ। प्रधानमन्त्री शाह पत्नी सविना काफ्लेसँग १ सय ९० तोला सुन रहेको विवरणमा उल्लेख छ। सविनासँग रहेको सुन पैत्रिक सम्पत्तिबाट प्राप्त भएको उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहकी आमा धु्रवदेवी शाहको नाममा काठमाडौंमा ५ आना, धनुषामा १.२ बिघा जग्गा रहेको विवरणमा छ। त्यस्तै प्रधानमन्त्री बालेनका बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा छ।

२. अर्थमन्त्री स्वर्णिम वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेका ४ वटा अपार्टमेन्ट छन्। ललितपुरको सानेपा र भैंसेपाटीमा दुईवटा अपार्टमेन्ट रहेको सम्पत्ति विवरणमा उल्लेख छ। अर्थमन्त्री वाग्लेले सानेपाको १,२८४ वर्गफिटमा रहेको अपार्टमेन्टको मूल्य २ करोड र भैंसेपार्टीको ४ आना ३ पैसामा रहेको ५ करोडमा खरिद गरेको देखाएका छन्। त्यस्तै काभ्रेको धुलिखेल र तनहुँको बन्दीपुरमा पनि उनको अपार्टमेन्ट छ। धुलिखेलमा ९ आनामा रहेको अपार्टमेन्ट ३ करोड ७५ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ। त्यस्तै बन्दीपुरको ३ आना ३ पैसा जग्गामा रहेको अपार्टमेन्ट २ करोडमा खरिद गरेको जनाएका छन्। अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी र बैंक ऋण तथा व्यक्तिगत सापटीमा खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ।

उनको सानिमा मिडल तमोर हाइड्रोमा प्रमोटर सेयर ७१ हजार ९३ कित्ता र सांग्रिला विकास बैंकमा प्रमोटर सेयर २५ हजार ७ सय ६२ कित्ता छ। नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख, ठूलो खेलामा ६० लाख, अपर मोदी खोला हाइड्रोमा ३ करोड सेयर छ। उक्त सम्पत्ति अन्तर्राष्ट्रिय रोजगारी र निजी निवास बिक्री गरेर कमाएको अर्थमन्त्रीले उल्लेख गरेका छन्। अर्थमन्त्री वाग्लेको काठमाडौंको चन्द्रागिरीमा ३ रोपनी, गोरखा सहिदलखन नगरपालिकामा ३ रोपनी, गोरखा नगरपालिकामा ५ रोपनी, चितवनको रत्ननगर ५ कट्ठा, तनहुँको भानु नगरपालिकामा ६ रोपनी जग्गाजमिन छ। वाग्लेसँग ४५ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

अर्थमन्त्री वाग्लेसँग १ करोड ९० लाख रकम मौज्दात देखिएको छ। श्रीमान् र श्रीमती दुवैको मौज्दात रकम रहेको उनको भनाइ छ। उनले ग्लोबल आईएमई बैंकबाट १ करोड ५ लाख, व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन्। उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट ७५ लाख रुपैयाँ ऋण लिएर पनि तिरिसकेको उल्लेख गरेका छन्। उनी ९४ लाखको सुबरु एक्सभी गाडी चड्छन्।

३.परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनालको टोखामा ६ आना घरजग्गा छ। उनीसँग २२ तोला सुन, २५ तोला चाँदी र १० लाख नगद छ। तनहुँमा १५ रोपनी, नवलपुरमा १३ रोपनी र नेपालगन्जमा २ कट्ठा जग्गाजमिन रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उनीसँग सेयर पनि प्रशस्त रहेको पाइएको छ। उनी ४० लाखको गाडी चढ्छन्। अच्यूतम अधिकारी खनालको लगानी पार्टनर रहेको पाइएको छ।

४. ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका दुईवटा घर छन्। घरजग्गा पैत्रिक सम्पत्ति बिक्री गरेर जोडेको उल्लेख गरेका छन्। उनीसँग १५ तोला सुन, ५० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ। यो पनि उनले पैत्रिक/विवाहमा प्राप्त गरेको उल्लेख गरेका छन्।

उनको बैंक तथा वित्तीय संस्थामा प्रशस्त रकम मौज्दात रहेको देखिएको छ। लुम्बिनी विकास बैंकमा २४ लाख १७ हजार २ सय, सिनर्जी कोपरेटिभ लिमिटेडमा १५ लाख, सिनर्जीमा नै श्रीमतीको खातामा २५ लाख, राष्ट्रिय वाणिज्य बैंकमा १२ लाख ४२ हजार रकम रहेको देखिएको छ। अन्य बैंकमा उनको पैसा मौज्दात छ। नेपाल स्टक एक्सचेजमा सूचीकृत विभिन्न कम्पनीमा १ करोड ४५ लाख ४८ हजार ४ सय २० रुपैयाँ बराबरको २० हजार ९७८ कित्ता सेयर रहेको उनको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख छ। उक्त सेयर स्वआर्जनबाट किनेको उल्लेख गरेका छन्। उनीसँग दुईवटा गाडी पनि छन्। ल्यान्डकुजर (टोयोटा) र अर्को विद्युतीय सवारी पनि उनी चड्छन्।

५.गृहमन्त्री सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङको धनकुटा, चितवन र गोरखामा जग्गाजमिन छ। धनकुटाको कार्कीछाप–५ मा १९ रोपनी १५ आना, चितवनको भरतपुर–१८ मा ३० कट्ठा (बुबा दिलबहादुर गुरुङको नाममा), गोरखामा चुमनुव्री २२१ रोपनी जग्गा (बाजे रामसल गुरुङ) रहेको उल्लेख गरेका छन्।

गृहमन्त्री गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी पनि रहेको सम्पत्ति विवरणमा उल्लेख छ। लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४ सय, नबिल बैंकमा ५६ लाख २५ हजार ९ सय ७६ रकम मौज्दात छ। होप होल्डिसमा ३० लाखबराबरको ३० हजार थान, लगुम प्रिपियम अपार्टमेन्टस प्रालिमा ५७ लाखबराबरको ५७ हजार थान, धितोपत्र बजारमा कुल २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। त्यस्तै एडभेन्चर भिल्ला प्रालिमा ७० लाख बराबरको ७० हजार थान सेयर रहेको पाइएको छ। गृहमन्त्री गुरुङको एमजी–एस ५ कार रहेको छ। उनले जेन–जी आन्दोलनपछि २०८२ असोज १६ मा ४७ लाख ९९९ हजारमा यो कार किनेको विवरणमा उल्लेख छ।

६. भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल

भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकासमन्त्री सुनील लम्सालसँग ९० लाख रुपैयाँ बैंकमा मौज्दात छ। सम्पत्ति विवरणमा उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ। उनले परिवारका सदस्यका नाममा रूपन्देहीमा १ कट्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कट्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी रहेको देखाएका छन्।

७. शिक्षामन्त्री सस्मित पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका सस्मित पोखरेलसँग प्रशस्त सम्पत्ति रहेको देखिएको छ। उनले बुवा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको विवरणमा उल्लेख छ। उनीसँग २५ तोला सुन, १ सय तोला चाँदी रहेको विवरण उल्लेख छ। बैंक खातामा ४ लाख ४७ हजार ९ सय ९४ रुपैयाँ मौज्दात देखाएका छन्। बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका सेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख छ।

बुवा रमेशकुमारकै राष्ट्रिय बचतपत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई शेयर खरिदको रूपमा राखेका छन्। आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचतपत्रमा ५० लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख गरेका छन्। उनले आफू र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाएका छन्। हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ्रे बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ। बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।सम्पत्ति विवरणमा कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन्। उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रहेको देखिएको छ।

८. कानुनमन्त्री सोविता गौतम

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको काठमाडौं र चितवनमा दुईवटा घर छन्। श्रीमान् गृहन्द्र घिमिरेको नाममा काठमाडौंमा र सासूआमा कृष्ण देवीको नाममा चितवनमा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। गौतमको बैंक ब्यालेन्स १० लाख ५० हजार ३३५ रुपैयाँ छ। दुईवटा बैंकबाट ऋण पनि लिएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख लिएको र त्यसमा ७ लाख तिरेको पनि सम्पत्ति विवरण उल्लेख छ। उनले एभरेष्ट बैंकबाट गाडी खरिदकै लागि २५ लाख ऋण लिएको जनाएकी छिन्। कानुनमन्त्री गौतमसँग १५ तोला सुन, ९ तोला चादी र १ तोला हीरा पनि रहेको उल्लेख छ। १० तोला सुन विवाहबाट प्राप्त भएको उल्लेख छ।

राष्ट्रिय वाणिज्य बैंकबाट २६ लाख ऋण लिएर गाडी खरिद गरेको उल्लेख गरेकी छिन्। श्रीमान् गृहेन्द्र घिमिरेले एभरेस्ट बैंकबाट ९५ लाख ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेको उल्लेख छ। यो गाडी ऋण, तलब र पुरानो गाडी एक्सचेन्ज गरेर खरिद गरिएको सम्पत्ति विवरण उल्लेख छ।

९. संघीय मामिलामन्त्री प्रतिभा रावल

संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाख बराबरको जग्गा छ। उक्त जग्गा श्रीमान्को आय स्रोतबाट किनेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। मन्त्री रावलसँग २५ तोला सुन छ। उक्त सुन स्वआर्जन तथा परिवारको उपहारबाट प्राप्त भएको जनाएकी छिन्। उनको विभिन्न बैंकमा २४ लाख रुपैयाँ बढी बचत छ। उक्त रकम श्रीमानको आयबाट प्राप्त भएको उल्लेख गरेकी छन्। उनले २० लाख रुपैयाँ एभरेस्ट बैंकबाट २०८२ साल जेठमा ऋण लिएको पनि उल्लेख गरेकी छन्। त्यस्तै ४४ लाखको गाडी पनि रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ।

१०. महिलामन्त्री सीता वादी

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुन, सीता बादी। उनीसँग १८ तोला सुन र १५ तोला चाँदी छ। उनले यी गरगहना विवाहमा आफूले पाएको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्। ससुराको नाममा काठमाडौंको बूढानीलकण्ठमा घरघडेरी रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। मन्त्री बादीको नाममा सुर्खेतमा पनि घरघडेरी छ। पतिको नाममा नुवाकोटमा पनि घरघडेरी छ। आफूसँग ५० हजार रुपैयाँ मौज्दात रहेको उनले जनाएकी छिन्। आफू र ससुराको नाममा एनआइसी एसिया, प्रभु बैंक आदिमा १५ लाख नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख छ। पति र आफ्नो नाममा ५ हजार ६ सय कित्ता सेयर रहेको पनि उनले उल्लेख गरेकी छन्। आफूसँग स्कुटर र पतिसँग मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्। त्यस्तै उनले कुखुरा २० वटा र कुकुर एउटा रहेको पनि विवरणमा जनाइकी छन्।

११. कृषिमन्त्री गीता चौधरी

कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीसँग ५० हजारको घडी रहेको छ। स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडेरी रहेको सम्पत्ति विविरणमा उल्लेख गरेकी छन्। उनीसँग ९० हजारको मोबाइल र ७५ हजार रुपैयाँको ल्यापटप रहेको उल्लेख गरेकी छिन। उनीसँग ५ तोला सुन र १०० तोला चाँदी रहेको छ। यो सुन र चाँदीको आयस्रोत पैतृक र स्वआर्जन रहेको उनले जनाएकी छिन।  ५ वटा बैंकमा गरी मन्त्री चौधरीको नाममा १ लाख २६ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख छ। उनले सम्पत्ति विवरणमा स्कुटर रहेको पनि उल्लेख गरेकी छन्।

१२. स्वास्थ्यमन्त्री निशा मेहता

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी छ। सुन र चाँदी आफूले दाइजो, उपहार र आफैंले खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। मन्त्री मेहताको काठमाडौंको सौखेलमा ७ आना जग्गा छ। उक्त जग्गा श्रीमान् र आफ्नो तलबका साथै ऋणमा खरिद गरेको उल्लेख गरेकी छिन।

१३.पर्यटनमन्त्री गनेश पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज (गनेश) को पोखरा– १४ मा २ करोड ६० लाखको घर रहेको छ। उक्त घर बैंकको ऋण तथा पैत्रिक सम्पत्तिबाट खरिद गरेको उनले जनाएका छन। पौडेलले भाउजू सन्तोषी शर्माको नाममा रहेको घरलाई सम्पत्ति विवरणमा समेटेका राखेका छन्। आमा खीमाकुमार पौडेलको नाममा कास्कीमा तीन ठाउँमा जग्गा रहेको पनि विवरण पेस गरेका छन्। मन्त्री पौडेलसँग ११ तोला सुन र ५ तोला चाँदी रहेको पनि सम्पत्ति विवरणमा छ। मन्त्री पौडेलले मझेरी सहकारीबाट १० लाख रुपैयाँ ऋण लिएको विवरण पनि उल्लेख छ।। घर किन्न शर्माले माछापुच्छ्रे बैंकबाट १ करोड ३० ऋण लिएको विवरण छ। घर भने भाउजू सन्तोषी शर्माको नाममा छ।

१४.सञ्चारमन्त्री विक्रम तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाको काठमाडौं नार्गाजुनमा घर जग्गा छ। स्वदेश तथा विदेशबाट कमाईबाट उक्त घरजग्गा जोडेको उनले बताएका छन्। श्रीमतीको नाममा अरू दुई कित्ता जग्गा पनि काठमाडौं रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। उक्त जग्गा श्रीमतीको आम्दानीबाट किनेको उल्लेख गरेका छन्। उनले १० लाख रुपैयाँ बैंकमा मौज्दात रहेको देखाएका छन्। विवाह, पुख्र्यौली सम्पत्तिबाट किनेको १० तोला चाँदी र ६ तोला सुन रहेको पनि विवरणमा उल्लेख छ। २३ लाखमा गाडी किनेको उनले जनाएका छन्।

१५.उद्योगमन्त्री गौरीकुमारी यादव

उद्योगमन्त्री यादवको काठमाडौं र महोत्तरीमा अथाह जग्गा जमिन, १८० तोला सुन, करोडौंको लगानी र टन्नै बैंक मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उनको काठमाडौंमा १ रोपनी १ आना २ दाममा तीनतले घर छ। काठमाडौं–१० मा १४ आना जग्गा, सोही वडामा अर्को ठाउँमा ७ आना एक पैसा २ दाम जग्गा र फेरि सोही वडामा ९ आना १ पैसा तीन दाम जग्गा छ। महोत्तरी बर्दिबास नगरपालिकामा १४ कठ्ठा, बर्दिबासमै अर्को ठाउँमा १५ कठ्ठा, र बर्दिबासका अन्य दुई ठाउँमा साढे ६ बिघा जग्गा छ। महोत्तरीकै सम्सीमा १ कठ्ठा र मनरासिस्वा नगरपालिकामा एउटा पोखरी पनि उनको नाममा छ।

३० वर्षअघि खरिद गरेको भनिएको १८० तोला सुन, दुई किलो चाँदी र २ सेट अर्थात् चार रिङ हीराको गहना पनि उनीसँग छन्। ४ लाख रुपैयाँ सिद्धार्थ बैंकमा, १ लाख रुपैयाँ लक्ष्मी सनराइज बैंकमा, २ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकमा, डेढ लाख रुपैयाँ सीभीआईसीमा र डेढ लाख रुपैयाँ मनमोहन स्वास्थ्य सहकारीमा रहेको देखिन्छ।

यसका अतिरिक्त, विभिन्न कम्पनीमा ३ करोड ३८ लाख रुपैयाँ लगानी रहेको पनि उनको विवरणमा उल्लेख छ। पति शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको उनले उल्लेख गरेकी छन्। त्यस्तै कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँको अटो ऋण रहेको र ५७ लाख रुपैयाँ पर्ने कार पनि सोही नाममा रहेको विवरणमा देखिन्छ। उनले ३ सय ३२ कित्ता जग्गा बिग मार्टलाई लिजमा दिएको र त्यसबाट मासिक ९० हजार रुपैयाँ भाडा प्राप्त भइरहेको पनि सम्पत्ति विवरणमा खुलाएकी छन्।

१६. श्रममन्त्री रामजी यादव

 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको राजविराजमा ११ कट्ठा १३ धुरमा घर जग्गा छ। राजविराजको विभिन्नस्थानमा उनको प्रशस्त घडेरी छ। त्यस्तै उनीसँग ८० तोला सुन,१५० तोला चादी छ। सानिमा बैंक र एनआईसी एसीयामा ३५/३५ लाख रकम मौज्दात छ। उनीसँग मोटरसाइकल, मोइबाइल, ल्यापटपको विवरण पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्