नेपाली कम्युनिस्ट पार्टी झन्-झन् चम्किएको प्रचण्डको दाबी

बुधबार, माघ २८, २०८२

नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बन्दै गएको दाबी गरेका छन् ।

बुधबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले विपक्षी दल, बुद्धिजीवी र पत्रकारहरूले समेत नेकपाको अवस्थाबारे सकारात्मक निष्कर्ष निकाल्न थालेको जिकिर गरे ।

‘यो मैले मात्रै भनेको होइन,’ उनले भने, ‘विपक्षी दलका नेताहरू, बुद्धिजीवी र पत्रकारहरूले पनि नेकपा सोचेभन्दा राम्रो अवस्थामा पुगेको स्वीकार गर्न थालेका छन् । पहिले हामीलाई हेप्नेहरू पनि अहिले नेकपा प्रतिस्पर्धामा अघि बढेको भन्न थालेका छन् ।’

प्रचण्डले प्रत्यक्षतर्फ नेकपाले राम्रो नतिजा ल्याउने संकेत देखिएको उल्लेख गर्दै नेता–कार्यकर्तालाई थप मेहनतका साथ प्रचार अभियानमा जुट्न निर्देशन दिए ।

नयाँ भनिएका दलहरूले केही क्षेत्रमा माहोल देखाए पनि पुराना आधार क्षेत्रमा प्रभाव नदेखिएको उनको भनाइ थियो । उनले नेकपा, कांग्रेस, एमाले र रास्वपाबीच देशव्यापी कडा प्रतिस्पर्धा हुने बताए ।

‘देशभर नेकपा, कांग्रेस, एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने वातावरण बनेको छ,’ प्रचण्डले भने, ‘आउँदो १०–१५ दिनमा नेकपा अझै अघि बढ्ने मेरो विश्वास छ ।’

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्