कांग्रेसलाई संसद बैठक चाहियो, के-के का लागि माग्यो छानबिन समिति ?

सोमबार, कात्तिक १६, २०८३

नेपाली कांग्रेस संसदीय दलको बैठकले अदालतमा बिचौलियासँग मिलेर मुद्दामा सेटिङ गरेको प्रकरणको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गर्ने निर्णय गरेको छ ।

त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख सचेतक बासना थापाले बताइन् ।

अदालतमा सेटिङ भएको भनिएको प्रकरणमा न्यायालय, सरकार प्रमुख र प्रहरीसमेतको नाम जोडिएकाले सरकारी निकायबाट हुने छानबिन निष्पक्ष हुनेमा विश्वास नभएको उनले बताइन् । त्यसैले संसद्बाटै उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग रहेको उनको भनाइ छ ।

बैठकमा प्रेस स्वतन्त्रता, न्यायालय तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्ने विषयमा पनि छलफल भएको थापाले जानकारी दिइन् ।

बैठकमा सांसदहरूलाई संसदीय दलले दिएको जिम्मेवारी र त्यसको कार्यान्वयन अवस्थाबारे समेत समीक्षा गरिएको थियो । यसबाहेक बैठकमा भोटेकोशी–त्रिशूली बाढीसम्बन्धी विशेष संसदीय उच्चस्तरीय समितिकाे पछिल्ला बैठकमा भएका छलफल र निर्णयबारे पनि छलफल भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्