सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेस संस्थापनइतर पक्षले आइतबार (कात्तिक १५)देखि औपचारिक रूपमा जिल्ला अधिवेशन सुरु गरेको छ । यो समूहले यसै वर्ष असोज १५ गतेदेखि वडा अधिवेशन थालेको थियो । अब जिल्ला अधिवेशनलाई औपचारिक रूपमा अगाडि बढाएको हो ।
तर, औपचारिक कार्यतालिका सुरु हुनुअघि नै २२ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको उक्त समूहको निर्वाचन समितिले जनाएको छ । संस्थापनइतरको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले धेरै जिल्लामा अधिवेशनको तयारी पूरा र केहीमा वर्षाका कारण प्रभावित भएको जानकारी दिए ।
उनले भने, “धेरै जिल्लामा तयारी भएको छ भन्ने सुन्नमा आएको छ । वर्षाका कारण केही जिल्लामा प्रभावित भएको छ । धेरैले आजै (कात्तिक १५) सुरु गर्ने कुरा छ ।”
यो समूहले असोज २० देखि पालिका र असोज २३ देखि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सञ्चालन गरेको थियो । मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तय छ ।
केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने घोषणा गरिएको छ । जिल्ला अधिवेशन सम्पन्न भएपछि प्रदेश र केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।