सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाई गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न कांग्रेस सरकार समक्ष माग गरेको छ।
सभापति गगन थापाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको बताएका छन्।
‘समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ’ उनले भनेका छन्, ‘विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौँ घटना हामीले भोगेका हौँ। आज पुनः तिनै विगतका निरङ्कुश प्रवृति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो।’
नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति निरन्तर लड्दै आएको स्पष्ट पार्दै उनले सधैँ यस्ता निरङ्कुश र स्वेच्छाचारी कदमहरूको बिरुद्ध उभिँदै आएको र अनवरत उभिने दृढता व्यक्त गरेका छन्।
‘स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो। यदि कुनै सञ्चार माध्यम वा पत्रकारबाट गलत कार्य वा त्रुटि भएको छ भने त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान छन्। ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (रुल अफ ल) लाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति (रुल बाइ ल) तर्फ उन्मुख हुनु हो। सञ्चार माध्यम र पत्रकारमाथि गरिएको यो दमनकारी कदम अत्यन्तै निन्दनीय र घोर आपत्तिजनक छ । नेपाली कांग्रेस यस घटनाको कडा शब्दमा घोर भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता कदम तत्काल सच्याउन जोडदार माग गरेको छ।