नेपाली कम्युनिस्ट पार्टीको यस्तो छ चुनाव केन्द्रीत प्रतिबद्धता पत्र

मंगलबार, माघ २७, २०८२

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावका लागि प्रतिबद्धता पत्र ल्याएको छ । मंगलबार अपराह्न नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । 

प्रतिबद्धता पत्रमा ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारा राखिएको छ । प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायहितको समृद्धिलाई प्राथमिकतामा राखिएको छ । त्यसका लागि नेकपाले स्वाधिन र समृद्ध नेपालका निर्माणको मार्गचित्र अघि सारेको छ । 

प्रतिबद्धता पत्रमा प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजना र नयाँ महत्वपूर्ण आयोजनारूको निर्माण द्रुतरूपमा सम्पन्न गर्ने उल्लेख गरिएको छ । त्यस्तै पूर्वपश्चिम राजमार्ग, हुलाकीमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौं निजगढ द्रुतमार्ग, काठमाडौं हेटौडा सुरुङमार्ग, उत्तरदक्षिण लोकमार्ग (कोशी, त्रिशुली, कालीगण्डकी, कर्णाली र महाकाली कोरिडोर) गड्डाचौकी चिसापानी सडकखण्ड चार लेनको निर्माण गर्ने पनि उल्लेख गरिएको छ । त्यस्तै, खुटीया(दिपायल-चैनपुर-उरै भञ्ज्याङ योजना को निर्माण शीघ्र सम्पन्न गर्ने नेकपाले जनाएको छ ।  

‘मुलुकका विभिन्न भागमा द्रुतमार्ग, लोकमार्ग र टनेल मार्गको निर्माण कार्य अगाडि बढाइनेछ । प्रमुख शहरहरूमा मास ट्रान्जिट सिस्टम कार्यान्वयनमा ल्याउनेछ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘ठूला नदीहरूमा जल यातायातका पूर्वाधार निर्माण गरिनेछ ।’ 

राजनीतिक स्थिरता र शासकीय स्वरूपमा आमूल परिवर्तन पार्टीले विद्यमान निर्वाचन प्रणाली खर्चिलो र भ्रष्टाचारलाई बढावा दिने खालको भएको सुधारको प्रस्ताव गरिएको छ । ‘जेनजी पुस्ताको मर्म र मुलुकको आवश्यकता अनुरूप शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरिनेछ’, प्रतिबद्धता पत्रमा भनिएको छ ।  

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्