सोसल मिडिया
युनिकोड
सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद फेरि थप्ने तयारी गरेको छ । सोमबार अपराह्न ४ बजे बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट आयोगको म्याद तेस्रो पटक थप्ने तयारी छ ।
सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
तीन महिनाको समय दिएर गठित आयोगले निर्धारण गरिएको समयमा काम नसकेपछि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि आयोगको म्याद थपेको थियो । त्यो समयमा पनि काम नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद पुनः २० दिन थप्ने निर्णय गर्यो ।
त्यो समय बुधबार (माघ २८ गते) सकिँदैछ । यो समयमा पनि काम नसकिएपछि पुन थप्न लागिएको हो । म्याद थप्ने निश्चित भए पनि कति समय थप्ने भन्ने निश्चित भइसकेको छैन । अब म्याद थप्दा फागुन २१ घर्किने गरि थप्न सक्ने तयारी भएको एक अधिकारीले बताएका छन्।