भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको अख्तियारका मूलीको भनाई 

सोमबार, माघ २६, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आयोगको ३५ औं स्थापना दिवसका अवसरमा सोमवार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा हुनुपर्ने बताए ।

उनले सुशासन कायम गर्नको लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको चुस्त र दुरुस्त कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। भ्रष्टाचार नियन्त्रणमा अख्तियार अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था मात्र भएको उनको भनाई छ । सुशासन कायम गर्न सरकार, नागरिक समाज र सञ्चारजगत सबैको भूमिका अपरिहार्य रहेको बताएका छन् । उनले अख्तियार ऐन, नियम र कानुन अनुसार भ्रष्टाचार नियन्त्रणमा निरन्तर क्रियाशील रहेको बताए । भ्रष्टाचार नियन्त्रणको लागि जनशक्ति वृद्धि, कार्यशैलीमा परिवर्तन र प्रविधिको प्रयोग बढाइएको उनको भनाई छ ।

उनले प्रविधिको विकाससँगै भ्रष्टाचारका प्रवृत्ति पनि जटिल बन्दै गएको समेत बताएका छन् । भ्रष्टाचार नियन्त्रणका लागि अझ सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाई छ । उनले पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास बढ्दै गएको दाबी गरे । पाँच वर्षे कार्यकालमा आयोगको स्तरवृद्धि गरिएको उल्लेख गर्दै उहाँले हालको कार्यशैलीले समाजमा सुशासनप्रति आशा जगाएको बताए ।

आयोगले स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरी, आयोगका कर्मचारी तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ । आयोगले उत्कृष्ट अख्तियार सेवा पुरस्कार र उत्कृष्ट अनुसन्धान अख्तियार पुरस्कार भने माघ २८ गते स्थापना दिवसको मुल समारोह समितिमा वितरण गर्ने प्रमुख आयुक्त राईले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्