धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै ओलीले सुनाए विश्वकै पहिलो सर्जनको कथा 

आइतबार, माघ २५, २०८२

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विश्वामित्रका छोरा विश्वकै पहिलो सर्जन भएको दाबी गरेका छन्। 

आइतबार झापामा आयोजित धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चिकित्सा विज्ञान (सर्जरी) को सुरुवात नेपालकै भूमिबाट भएको जिकिर गरे। ऋषि विश्वामित्र र उनका छोरा सुश्रुतको योगदानको चर्चा गरे। 

‘शास्त्र बनाउने हाम्रा पूर्वज थिए, पहिलो सर्जन यहीँ धर्तीका थिए। त्रेतामा विश्वामित्र ऋषि विश्वामित्रका छोरा ऋषि सुश्रुत पहिलो सर्जन थिए विश्वकै। पहिलो सर्जरी गर्ने उनी नै थिए,’ ओलीले भने। 

उनले नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को संज्ञा दिँदै हराउँदै गएको नेपालको गौरव पुनर्स्थापना गर्ने आफ्नो संकल्प रहेको बताए। ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु दुःख कसैलाई पनि नपरोस् भन्ने त्यो भाव सबैमा आओस् भन्ने त्यो पुरानो हाम्रो मन्त्र नै हो,’ उनले थपे, ‘हामी सबभन्दा अगाडि थियौँ विश्वमा। ज्ञान सृष्टि यो अनेक रचना यी सबै गर्ने हाम्रा पूर्वजहरू थिए।’

उनले गायन्त्री मन्त्रको चर्चा गरे। ‘ऋषि विश्वामित्रले नै मन्त्रहरूको पनि मन्त्र गायत्री मन्त्र बनाएका थिए कौशिका ऋषि, कौशिक र विश्वामित्र भनेका एउटै ऋषि हुन् उनले बनाएका थिए,’ ओलीले भने। 

नेपाल पाँच हजार वर्ष पुरानो गौरवशाली इतिहास भएको देश भएको र यहाँको ज्ञान–विज्ञानको परम्परा विश्वकै अग्रणी रहेको उनको भनाइ थियो। आफूले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारा पनि ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत्’ भन्ने चिन्तनबाटै प्रेरित भएको बताए। 

‘अहिले आएर मैले नेपाल कस्तो हुनुपर्छ भनेर पनि समृद्ध नेपाल अथवा हाम्रो देश धनी हुनुपर्दछ समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भनेर समृद्ध नेपाल र सुखी नेपाली भन्ने भनेको छु, यो कुरा हाम्रा वेदहरूले भनेको कुरा हो,’ उनले भने। 

कार्यक्रममा बोल्दै ओलीले निर्वाचन आचारसंहिताप्रति सचेत रहेको र आफू चुनाव प्रचारका लागि नभई देश बनाउने संकल्प दोहो¥याउन आएको जिरिक गरे। उनले आचारसंहिताका कारण आफूले चाहेर पनि पुराणमा दान गर्न नमिल्ने बाध्यता रहेको सुनाए। 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्