न्यायाधीशहरू निरिह भएको भन्दै राष्ट्रिय सभाको बैठकमा कांग्रेस सांसद पड्किए

शुक्रबार, माघ २३, २०८२

नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले संसद् पुनर्स्थापना सम्बन्धी मुद्दालाई लिएर न्यायाधीशहरू निरिह बनेको टिप्पणी गरेका छन्। 

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ढुंगानाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना सम्बन्धी मुद्दामा ढिलाइ गरेकोमा असन्तुष्टि जनाए। उनले सर्वोच्च अदालतका न्यायाधीशहरू यति धेरै निरीह भएको आफूले यसअघि कहिल्यै नदेखेको जिकिर गरे। 

‘यो देशको राष्ट्रियता कमजोर भयो। संसद् पुनर्स्थापनाका लागि मुद्दा परेको छ। न्यायाधीशहरू यति निरीह भइजानु भयो,’ उनले भने। 

उनले पञ्चायत कालमा पनि न्यायाधीशहरूले मुद्दाको किनारा लगाउने कामलाई प्राथमिकता दिने गरेको दृष्टान्त सुनाए। अहिले त्यो अवस्था नहुनु चिन्ताको विषय भएको उनको भनाइ थियो। 

‘नेपालको न्यायाधीश किन यति निरीह भए मलाई थाहा छैन। पञ्चायतका, राजाको कालमा पनि आफूमाथि राजकाजको मुद्दा पर्दा तत्काल फैसला हुन्थ्यो। तर आज त्यस्तो अवस्था छैन,’ ढुंगानाले भने। 

सरकारले राष्ट्रिय हितको पक्षमा आवश्यक ध्यान दिन नसकेको उनको आरोप थियो। जेनजी आन्दोलनले उठाएका मुद्दा जायज भए पनि त्यसमा घुसपैठ भएर विध्वंस मच्चाइएको उनको जिकिर थियो। 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्