सोसल मिडिया
युनिकोड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौँको स्वयम्भूथित मुस्ताङ गुम्बामा मुस्ताङमा नेकपाका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’को परिचयात्मक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले देशभर एउटै चरणमा चुनाव गर्नुपर्ने बताएका हुन्। ‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस्। चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस्,’ उनले भने।
हिमाली क्षेत्रमा हिमपातले अप्ठ्यारो अवस्था आएमा अर्को चरणमा चुनाव गर्न किने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी थिइन्। त्यसलाई लिएर प्रचण्डले एउटै चरणमा चुनाव गर्नुपर्नेमा जोड दिएका हुन्।
प्रचण्डले अहिले सामान्य अवस्थाको चुनाव नभएकाले विशेष ध्यान दिनुपर्ने बताएका छन्। ‘यो पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो। यसलाई राष्ट्र र जनताको निम्ति ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ,’ उनले भने।
उनले अझै पनि चुनाव हुन्छ कि हुन्न भन्ने आशंका रहेको उल्लेख गरे। यस्तो अवस्थामा सरकारले तोकिएको समयमा निर्वाचन गर्न केन्द्रित हुनुपर्नेमा जोड दिए।