रवि लामिछानेले ‘निलो क्रान्ति’ प्रयोग गरेर सिंहदरबार पुरै पोत्ने

मंगलबार, माघ २०, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबार बदल्नका लागि अब ‘निलो क्रान्ति’ आवश्यक रहेको बताएका छन्।

उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै निलो क्रान्तिका लागि आफ्नो पार्टीलाई भोट हाल्न आग्रह गरेका हुन्।

उनले सिंहदरबार पुग्नका लागि नभई सिंहदरबार बदल्नका लागि भोट दिन आग्रह गरेका छन्।  उनी भछन्,’म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दै छु घण्टीमा भोट। दलहरुका मसिहाहरुले राज्यका हरेक धमनीमा भरेको बिष निकाल्न माग्नेछु तपाईको भोट। एकाध पुल, एकाध भवन र एकाध सडकका तस्बिर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुचि छैन।’

निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्याण्डेटबिना आफूहरूले जित्नु र हार्नुको कुनै महत्व नहुने उनको भनाइ छ।

‘कुशासनको मुख्यालय भएको सिंहदरबारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्याण्डेटबिना हामी हार्नु र जित्नुको कुनै महत्व हुने छैन। वर्षौंअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन।’

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्