सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका तर्फबाट काठमाडाैं– १ मा उम्मेदवार बनेका प्रबल थापाले आफू पार्टीभित्र पटक्कै नयाँ नभएको साबिती बयान दिएका छन्। उनलाई विरोधीले फुत्त उम्मेदवार बनेको भनेर हल्ला चलाएपछि आफू पुरानै कांग्रेसी भएको जिकिर गरेका हुन्।
आज सोमबार पत्रकारसँग कुरा गर्दै उनले पार्टीका विभिन्न जनवर्गीय सङ्गठनमा २०६६ सालदेखि नै सक्रिय भएको बताए । थापागाउँका स्थानीय रैथाने थापाले पार्टीभित्र कुनै पनि असन्तुष्टि नभएको बताए ।
यसअघि निर्वाचित नेता प्रकाशमान सिंहले आफूलाई सक्दो सहयोग गर्ने उनले बताए । उनले सिंहलाई जिताउने यसअघिका निर्वाचनमा सक्रिय भूमिका खेलेको भन्दै अहिले सिंहले पनि सघाउ गर्ने वचन दिएको जानकारी दिए ।
‘टिकटको विषयलाई लिएर पार्टीभित्र कुनै असन्तुष्टि छैन,’ उनले भने, ‘प्रकाश दाइबाटै मैले राजनीति सिकेको हो । उहाँले सक्दो सहयोग गर्छु भन्नुभएको छ ।’
थापाले राजधानीको केन्द्र भागमा रहेको निर्वाचन क्षेत्रमा ट्राफिक व्यवस्थापन, व्यवसायिक सुरक्षा, नागरिक सुरक्षालगायतका विषय प्रमुख रहेको बताए । उनले जनप्रतिनिधि भएपछि निर्वाचन क्षेत्रसहित सिंगो मुलुकका समस्यामा केन्द्रित रहेर संसदमा कानुन बनाउन प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
खास नयाँको परिभाषामा अहिले नेपाली कांग्रेस भएको तर्क गर्दै थापाले धेरै उम्मेदवारी नयाँ अनुहारमार्फत दिन लगाएर पार्टीले रूपान्तरणलाई आत्मसात् गरेको जिकिर गरे । कांग्रेसको महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधिसमेत रहेका थापा २०७० सालमा प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवारसमेत बनेका थिए । सामाजिक कार्यमा समेत उम्दा थापा सरल र सहज पनि छन्।