सके जित्ने नसके प्रतिष्पर्धामा उत्रने कुलमानका कुरा 

सोमबार, माघ १९, २०८२

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दिएका अधिकांस ठाउँमा चुनाव जित्ने दाबी गरेका छन्। 

सोमबार सिमरा पुगेका घिसिङले सञ्चारकर्मीसँगको कुराकानीमा काठमाडौँ आसपासका क्षेत्रमा उम्मेदवार जित्ने बताएका हुन्। ‘धेरै सीट जित्छौँ र नजितेको ठाउँमा प्रतिस्पर्धामा आउँछौँ,’ घिसिङले भने। 

उनेपालले देशभरका १६५ मध्ये १२१ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ। घिसिङ काठमाडौँ-३ बाट उम्मेदवार बनेका छन्। 

चुनावी प्रचारका क्रममा सिमरा पुगेका उनले झापा-५ बारे सोधिएको प्रश्नमा जनताले निर्णय गर्ने प्रतिक्रिया दिए। ‘हाम्रो पनि उम्मेदवारी छ। अब जनताले निर्णय गर्ने कुरा हो। जनताले जे निर्णय गर्छन् त्यही हुन्छ,’ उनले भने। 

झापा-५ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बनेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकताका विषयमा उनले असन्तुष्टि जनाए। जेनजी आन्दोलनको माग र जनताको चाहनाअनुसार एकता गरेको भए पनि रास्वपाले सहमतिलाई कार्यान्वयन नगरेको बताए। 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्