बालेनको गाडीबाट ओर्लिदा बेहोस भएका पत्रकार सिटौलाको के कारण भयो निधन ?

आइतबार, माघ १८, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा गएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । 

आइतबार (माघ १८) १२ः ४५ बजे उनको निधन भएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले घोषणा गरेको हो । बालेनसँगै चुनावी प्रचारका क्रममा माघ १६ गते सिटौला अछाम पुगेका थिए । 

जिल्ला प्रशासन कार्यालय अछाममा प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाका अनुसार, बालेनको टिम १५ गते डोटी बसेको थियो । त्यसपछि अछामको साफेबगर हुँदै मंगलसेन पुगेको थियो । त्यसपछि अछाम २ का उमेदवार भूपदेव शाहको घर जाने क्रममा गाडीबाट ओर्लिंदा एक्कासि बेहोस भएका थिए । 

“उहाँहरू १५ गते डोटी बस्नुभएको रहेछ । त्यसपछि अछामको साफेबगर हुँदै मंगलसेन अछाम २ का उमेदवार भूपदेव शाहको घर जाने क्रममा गाडीबाट ओर्लिदा एक्कासि बेहोस हुनुभयो । त्यतिबेला अछामकै अस्पतालमा देखाउँदा टाउकोमा चोटपटक केही देखिएको थिएन,” प्रजिअ बुढाले भने । 

सिटौला ढलेपछि रास्वपा अछामका सभापतिले सीडीओलाई सम्पर्क गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
 
“मलाई रास्वपा अछामका सभापतिले सम्पर्क गर्नुभएको थियो । त्यसपछि नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि पठाइएको थियो,” उनले भने ।
 
नुवाकोटका ४५ वर्षीय सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुन् । अस्पतालका अनुसार, ढलेर जिल्ला अस्पताल अछाम लैजाने बेला उनको श्वासप्रश्वास नै नरहेको अस्पतालले पुष्टि गरेको छ ।

कार्डियोपल्मोनरी रेससिटेसन (सीपीआर) तुरून्तै सुरु गरिएको थियो । र, लगभग ४५ मिनेटपछि मुटुको चाल फर्किएको थियो । 

अस्पतालले चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न (एप्निय) परीक्षण गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भए पनि उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि ब्रेन ह्यामरेजका कारण उनको निधन भएको हो ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्