फागुन २१ अनुकूल नदेखेपछि ओलीले खोले फायर, नामै नलिएर बालेनलाई गरे भक्कु गाली

शनिबार, माघ १७, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आगामी फागुन २१ गते हुने निर्वाचनमा देश बनाउने र देश जलाउनेबीच प्रतिस्पर्धा हुने बताएका छन्। 

शनिबार काठमाडौँमा एमाले ओखलढुंगा- काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको ‘प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले आफूलाई देश बनाउने कित्तामा उभिन नागरिकलाई आह्वान गरे। 

‘आगामी निर्वाचनमा तपाईंहरुले देशलाई विजयी बनाउनु हुनेछ,’ उनले भने, ‘देशका १६५ निर्वाचन क्षेत्रमा एक ठाउँमा पनि देश हार्न हुँदैन।’ ओली झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका छन्। त्यहाँ उनको रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

उनले आफ्ना प्रतिस्पर्धी बालेन साहतर्फ इङ्गित गर्दै ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न आएको’ टिप्पणी गरेका छन्। 

बालेनको नाम नलिई ओलीले भने, ‘मैले धेरै केही भन्नु पर्दैन। अण्डा दुई प्रकारका हुन्छन्– एउटा बतासे, एउटा साँच्चैको अण्डा। बतासे अण्डाबाट चल्ला निस्किँदैन।’ उनले बालेनको नाम नलिइ आगो झोस्नेहरुले अहिले बतासको खेती गरिरहेको बताए। 

 ‘यी बतासका खेती गरिरहेका छन्। यिनीहरुसँग संगठन छैन, उद्देश्य छैन, विचार छैन। भोलि उठी कहाँ जाने केही थाहा छैन। फर्की आउने हो कि होइन, त्यो पनि थाहा छैन। पुल्ठो झोस्न जान्या छ, आगो बाल्न जान्या छ, देश बिगार्न जान्या छ, भड्काउन जान्या छ, तोडफोड गर्न जान्या छ, लुटपाट गर्न जानेको छ, आगजनी गर्न जान्या छ। यस्ता कुराहरुलाई क्रान्ति भनेर महिमामण्डन गरिँदैछ।’

ओलीले आफ्ना प्रतिस्पर्धीको जनाधार नभएको पनि दाबी गरे।  ‘यी आकाशे खेती हुन्। धर्तीमा उनीहरु जनतासँग पुग्या छैनन्। कहाँबाट कसले खेलाएका हुन् थाहा छैन,’ ओलीले भने, ‘एउटा ह्वीम चलाइदिएको छ। एउटा मोबाइल भन्ने भाँडो, त्यही भाँडोबाट होडलो मच्चाएको छ देशमा। हामी देशका लागि काम गर्छौं र जनताका बीचमा छौँ।’

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्