पार्टीका उम्मेदवारहरूलाई असहयोग गर्नेलाई ठाउँको ठाउँ ठोक्ने गगनको चेतावनी

शुक्रबार, माघ १६, २०८२

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर सम्वादमा रहेको बताएका छन्।

शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निवर्तमान सभापति देउवासहितका नेताहरूसँग निरन्तर सम्वादमा रहेको बताएका हुन्।

सभापति थापाले मुलुक निर्वाचनमा होमिएकाले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि निर्देशन दिए।हिजोका कुरालाई लिएर कांग्रेसका कुनैपनि नेता, कार्यकर्तालाई पार्टीभित्र फरक मत राख्ने समय नभएको सभापति थापाको भनाई थियो। 

सभापति थापाले भने,‘म अहिले नेपाली कांग्रेसका निःवर्तमान सभापति श्रद्धेय नेता शेरबहादुर देउवासँग पनि निरन्तर सम्वादमा छु। पार्टीका अरु नेताहरूसँग पनि निरन्तर सम्वादमा छु्। नेपाली कांग्रेस पार्टी एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचनतर्फ अगाडि बढिरहेको छ। हिजोको कुरालाई लिएर कहीँकतै कसैले पनि मनमा पनि केही कुरा नराख्नु होला। र, फागुन २१ गते पछाडि पनि पार्टीभित्र सबै साथीहरु एक ढिक्का भएर मिलेर हामी अगाडि बढ्छौँ।’ 

उनले निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई असहयोग गर्ने नेता, कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिए। 

उनले थपे, ‘हिजोको कुरामा अडकिएर बस्ने समय कोहीसँग पनि छैन। हामी एक ढिक्का, एक मन भएर निर्वाचनमा जाने हो। पार्टीका उम्मेदवारलाई असहयोग गर्नेहरुलाई पार्टीले कारबाही गर्छ।’ सभापति थापाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले कुनै कसर बाँकी नराख्ने पनि बताए।
 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्