सोसल मिडिया
युनिकोड
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघि मधेसको अधिकारका लागि लडेको बताउँदै अब विकासका लागि लड्नुपर्ने बताएका छन्।
बुधबार सप्तरीको विष्णुपुर गाउँपालिका-४ स्थित शान्ति चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले विकासमा जोड दिनुपर्ने बताएका हुन्। ‘हामीले अधिकार, पहिचान, स्वाभिमान र समानताका लागि लडाई लड्यौँ, अब मधेसले विकासका लागि लडाई लड्नु आवश्यक छ,’ यादवले भने।
संघीय सरकारले मधेसबाट अत्यधिक राजश्व लगे पनि विकास बजेट अत्यन्त कम दिने गरेको आरोप लगाए। आफूले यसअघि सप्तरी-२ मा विकास निर्माणका काम गरेको उल्लेख गरे।
‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालन, गजेन्द्रनारायण सिंह अस्पतालमा कायापलट हुने गरी भौतिक पूर्वाधार निर्माण, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा इन्जिनियरिङ भवन निर्माण, अस्पताल परिसरमा नर्सिङ भवन, विद्यालयमा शैक्षिक भवन, रुपनी-राजविराज सडक, राजविराज-छिन्नमस्ता-न्यौर सडक, राजविराज-हनुमाननगर-भारदह सडक निर्माण, पालिकाहरूलाई एम्बुलेन्स लगायतका कामहरू अगाडि बढाएँ,’ यादवले भने, ‘दुर्भाग्य नै भन्नुपर्छ मेरो अनुपस्थितिमा ती कार्यहरू अगाडि बढाउनुको साटो भाँजो हाल्ने काम भयो।’
अब सप्तरी-३ मा पनि विकास निर्माणको काम गर्ने उनले प्रतिबद्धता जनाएका छन्। अहिले उनी यहि क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्।