जेन–जी आन्दोलन र विध्वंसको मुख्य जिम्मेवार केपी ओली भएको वर्षमानको ठहर

सोमबार, माघ १२, २०८२

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले गत भदौको जेन–जी आन्दोलन र विध्वंसको मुख्य जिम्मेवार केपी ओली नेतृत्वको कांग्रेस-एमाले गठबन्धन सरकार रहेको बताएका छन् । ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिले नवयुवामा बढेको तीव्र असन्तुष्टि २३ भदौमा विस्फोट भएको पुनले भनाइ थियो ।

ओली सरकारको जनताका आवाज नसुन्ने र बिचौलिया वर्गको सेवामा समर्पित हुने प्रवृत्ति मुलुक जल्नुको कारक रहेको आरोप पुनले लगाए । आदोलनको पृष्ठभूमि निर्माण गर्ने काममा भने तत्कालीन प्रधानमन्त्री ओलीले सबैभन्दा बढी भूमिका खेलेको पुनले बताए । 

‘भदौ २३ गते केपी ओली नेतृत्वको कांग्रेस-एमालेको गठबन्धन सरकारको भ्रष्ट, स्वेच्छाचारी दमनकारी र निरंकुश प्रवृत्तिविरुद्ध नवयुवाहरूमा गुम्सिएको असन्तोषको विस्फोट थियो’, पार्टीको रोल्पा-काठमाडौं सम्पर्क मञ्चद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा पुनले भने, ‘जनताका आवाजलाई नसुन्ने बिचौलिया र स्वार्थ समूहको सेवामा मात्र काम गर्ने अनि जनताको मुख थुन्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कामको जवाफ थियो त्यो ।’

तर, २४ भदौको विध्वंसमा भने गलत तत्वको घूसपैठ भएको पुनले औँल्याए । ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर हेलिकोप्टरमा भागेपछि सिंहदरबार, संसद भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालतजस्ता धरोहर तथा व्यक्तिका घर र व्यवसायिक प्रतिष्ठानमा आगजनी र लुटपाट भएको पुनको भनाइ थियो । 

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा संघीय लोकतान्त्रिक गणतन्त्रमा सर्भिसिङ जरुरी देखेर सुशासनका लागि कदम चाल्दा डराएर मिलेका कांग्रेस-एमालेलाई जनताको शक्तिले मिल्काएको टिप्पणी पुनले गरे । आगामी २१ फागुनमा हुने निर्वाचनबाट ती शक्तिलाई जनताले थप दण्डित गर्ने दाबी पुनको छ ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्