सोसल मिडिया
युनिकोड
ठिक दश वर्ष अघि २०७२ को दीपावलीपछि एकाएक चम्किएका व्यक्ति कुलमान घिसिङले त्यसको दश बर्षपछि पार्टी खोलेका छन्।अन्धाकारमय देशलाई २४ सै घण्टा उज्यालोमय बनाएका कुलमान अहिले अन्धाकार राजनीतिमा उज्यालो खोजिरहेका छन् । उनको उज्यालो पार्टी नेपाल भने अहिले अफ्ठेरो अवस्थामा पुगेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पार्टीको ताला चाबी बुझाएर पार्टी एकता गरेका उनी १२ दिनमै ‘ब्याक’ भए । र, रास्वपामा जानुअघि उज्यालो नेपालको संरक्षक रहेका उनी पुनः फर्किदा अध्यक्ष भए । रास्वपामा उनको पद रविपछि दोस्रो स्थानमा थियो ।
मूल पार्टीमा फर्किएर राजनीतिको मियो खोजिरहेका कुलमान अहिले काठमाडौं क्षेत्र नम्बर ३ बाट आगामी २१ फागुनमा हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार छन् । एक कुशल प्रशासकको छाप छाडेका कुलमान राजनीतिमा होमिएको १२ दिनमै उताबाट यता आइपुगे । रास्वपाको साथ छाडेपछि उनले आफू रास्वपामा बस्न नसकेको तिक्तता पनि पोखे । र, आगामी यात्रा उज्यालो नेपालबाटै गर्ने र पार्टीलाई मजबुत बनाउने बाचा पनि गरे ।
फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनको मुखैमा आउनै लाग्दा १५ जना केन्द्रीय सदस्यहरुले कुलमानको साथ छाडेको औपचारिक घोषणा गरेका छन् । अब उनीहरु कुन राजनीतिक दल ‘सुटिङ’ मा प्रवेश गर्छन् ? त्यसबारे उनीहरुले अहिले कुनै मुख खोलेका छैनन् ।
कुलमानको साथ छाडेका उनीहरुले विज्ञप्तिमार्फत् भनेका छन्, ‘यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं ।’
कुलमानको साथ छाड्ने १५ जनामा डा. बिशाल कुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा.घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराई रहेका छन् ।
यसअघि पहिचानवादी नेताहरु डकेन्द्रसिंह थेगिमसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरूङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले पार्टी परित्याग गरिसकेका छन् । उनीहरूले संयुक्त रूपमा विज्ञप्ती जारी गरी पार्टीभित्र आन्तरिक लोकतन्त्रको कमजोरी, विधि–प्रक्रियाको अस्पष्टता तथा पहिचानसम्बन्धी एजेन्डाहरुमा स्पष्ट र लिखित धारणा प्रस्तुत नभएको भन्दै कुलमानको साथ छाडेका थिए ।