कमल थापालाई भोट माग्दै पशुपतिले खोजे ठूलो शासकीय फेरबदल

शनिबार, माघ १०, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो फेरबदल जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजतन्त्र हटाएर गणतन्त्त ल्याएपछि राजनीतिक दलहरुले सञ्चालन गरेको सरकारको क्षमता र स्तर आफूले हेरिसकेकाले अब वर्तमान शासन प्रणालीबाट पार नलाग्ने बताए।

उनले ठूला पार्टीहरु भ्रष्टाचारमा लिप्त भएको र नागरिकका काम नगरेकाले अब राप्रपा नै एकमात्र विकल्प रहेको बताए। मुलुकमा धर्म, संस्कृति, परम्परालाई कायम राख्न पनि पनि राजतन्त्रको पुनःस्थापना जरुरी रहेको उनको भनाइ थियो।

उनले भने, ‘यो मुलुकमा हामीले धेरै हेरिसक्यौँ। ठूला पार्टीहरुबाट चलाइएको, ठूला पार्टीहरुबाट सञ्चालन गरिएको कुरामा धेरै कुरा देख्यौँ। अन्त्यमा गएर भ्रष्टाचारमा लिप्त भए। मुलुकलाई दक्षताका साथ चलाउने उनीहरुमा क्षमता छैन। यो परिस्थितिलाई बुझेर राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा धर्म, संस्कृति, परम्परा कायम राख्दै एउटै ठूलो फेरबदल मुलुकमा चाहिन्छ।’

उनले काठमाडौँ–५ बाट कमल थापालाई विजयी गराउन पनि आह्वान गरे।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्