कांग्रेस मुख्यालय सानेपा बैठकद्वारा गगन प्रधानमन्त्रीको उम्मेदवार करार 

बिहीबार, माघ ८, २०८२

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगनकुमार थापालाई नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ ।

सभापतिमा निर्वाचित भएपछि पहिलोपटक केन्द्रीय कार्यालयमा सानेपामा शुक्रबार दिउँसो १:३० बजे बस्ने केन्द्रीय समितिको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागेको हो ।

‘विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित हुनुभएका गगन थापासहितका पदाधिकाकारी र केन्द्रीय सदस्यलाई केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्वागत गनुृहुन्छ,’ सभापति थापानिकट स्रोतले भन्यो, ‘लगत्तै सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापतिलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ ।’

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेसले औपचारिक रूपमा थापालाई प्रधानमन्त्रीमा अगाडि सार्ने निर्णय गर्न लागेको हो । थापा काठमाडौं– ४ छोडेर २१ फागुनको निर्वाचनमा सर्लाही– ४ बाट उम्मेदवार बनेका छन्। 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्