गगनको कप्तानीमा कांग्रेसलाई २०४८ सालमा फर्काउने तिवारीको दाबी

बुधबार, माघ ७, २०८२

नेपाली कांग्रेसका नेता शंकर तिवारीले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली कांग्रेस देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

बुधबार एक अपिल जारी गर्दै उनले नयाँ नेतृत्वको आगमनसँगै पार्टीमा नयाँ उत्साह सञ्चार भएको र यसले कांग्रेसलाई पुनः २०४८ सालकै जस्तो बलियो स्थितिमा पुर्‍याउने विश्वास व्यक्त गरेका हुन्।

भदौ २३ र २४ गतेको ‘जेनजी उथलपुथल’पछि बदलिएको राजनीतिक परिवेशमा कांग्रेसले आफूलाई सुधार गरेको तिवारीको भनाइ छ।

“कांग्रेस बदलेर देश बदल्ने हाम्रो लक्ष्य प्राप्तिको नजिक पुगेको छ,” तिवारीले भनेका छन्, “पुस २७ देखि माघ ६ सम्मका १० दिन नेपाली इतिहासका निर्णायक क्षण हुन्, जसमा कांग्रेसले विशेष अधिवेशनमार्फत गगन थापालाई नेतृत्वमा चयन गरेर नयाँ संकल्प लिएको छ।”

नेता तिवारीले माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण ढंगले मनोनयन सम्पन्न भएको उल्लेख गर्दै टिकट वितरणका क्रममा देखिएका स-साना तिक्तता र मनोमालिन्य बिर्सेर चुनावमा होमिन कार्यकर्तालाई आह्वान गरेका छन्।

उनले न्यायालयमा मुद्दा मामिला र प्रायोजित विवादका बीच ७२ घण्टाभित्रै सबै क्षेत्रमा सन्तुलित ढंगले टिकट वितरण हुनु असामान्य सफलता भएको टिप्पणी गरेका छन्।

गणतान्त्रिक संविधान जारी भएपछि पहिलो पटक कांग्रेसले सबै १६५ निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्ने वातावरण निर्माण गरेको उनले बताए।

“यसले विगतमा समानुपातिकतर्फ खुम्चिएको कांग्रेसको मतलाई सुरक्षित गर्दै पार्टीको सर्वोपरिता पुनः स्थापित गर्नेछ,” तिवारीले अपिलमा उल्लेख गरेका छन्।

आफू उम्मेदवार हुनु वा नहुनु गौण कुरा रहेको बताउँदै उनले गगन थापाको नेतृत्वमा फागुन २१ पछि कांग्रेसले राष्ट्रिय शक्तिका रूपमा संसदमा गौरवमय इतिहास दोहोर्‍याउने दाबी गरेका छन्।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्