सोसल मिडिया
युनिकोड
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने जनाएको छ।
आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए। आयागमा आएको उजुरीको आधारमा मात्रै नभएर आयोगले स्वअध्ययनबाट पनि आचारसंहिता विपरितका कार्य गर्नेलाई कारबाही गर्ने घिमिरेले जानकारी दिए।
‘तलबाट आउने रिर्पोटको आधारमा आयोगले अध्ययन गरेर त्यसलाई कुन किसिमको, कुन लेभलको कारबाही अगाडी बढाउनुपर्छ, त्यो गर्ने आयोगको तयारी छ, आयोगले त्यसरी नै गर्छ,’ उनले भने।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला सबैको सहमतिमा आचारसंहिता जारी गरिएको छ। उनका अनुसार आचारसंहिताको पालना गराउने र उल्लङ्घन भएमा कारबाही गर्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म आयोगका अनुगमन संयन्त्र सक्रिय बनाइएको छ।
‘आचारसंहिता कार्यान्वयन नभएको अवस्थामा आचारसंहिता विपरितका गतिविधिहरू भएको अवस्थामा त्यसलाई कसरी नियमित गर्ने भन्ने सम्बन्धमा आयोगले पहिले नै तयारी गरिसकेको छ,’ उनले भने, ‘निर्वाचन क्षेत्रस्तर, जिल्लास्तर, केन्द्रस्तरसम्म निर्वाचन आयोगका संयन्त्रहरु स्थापित भइसकेको अवस्था छ।’
उनले निर्वाचन आचारसंहिता राजनीण्तिक दल, उम्मेदवार र मतदाता सबैले पालना गर्नुपर्ने बताए। उम्मेदवारी मनोनयनका क्रममा मंगलबार केही आचारसंहिताका विपरितका कार्य भएको उल्लेख गर्दै ती घटनालाई आयोगको नोटिसमा रहेको बताए। आचारसंहिता कार्यन्वयनका लागि आयोगले संयन्त्र बनाइसकेको पनि जानकारी दिए।
‘मनोनयनको वेलामा आचारसंहिता उल्लंघन भएको विषयमा केही उजुरीहरू प्राप्त भएका छन्। ती उजुरीका सम्बन्धमा पनि आयोगले थप कारबाही अगाडी बढाउँछ,’ घिमिरेले भने।
दुई वटै तरिकाले निर्वाचन आचारसंहितालाई कार्यन्वयन गरिने बताउँदै उनले भने, ‘आफ्ना संयन्त्रमार्फत आएका रिर्पोटका आधारमा पनि एक्सनमा आयोग जान्छ, उजुरी आईसके पछाडी त्यो उजुरीलाई पनि तत्काल कारबाही गर्नेगरि आयोग एक्सनमा जान्छ, यी दुवै तरिकाले तरिकाले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यन्वयन गर्न अगाडी बढिन्छ।’
प्रत्यक्षतर्फ देशभर ३ हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये ३ हजार ८९ जना पुरुष, ३९६ जना महिला र १ जना अन्य समूहबाट उम्मेदवार रहेको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिए।
राजनीतिक दल र उम्मेदवारले देखाएको संयमता र शान्तिपूर्ण वातावरणका कारण मनोनयन दर्ता कार्यक्रम सहज रूपमा सम्पन्न भएको घिमिरेले बताए।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ। प्राप्त उजुरीको निर्वाचन अधिकृतको कार्यालयमा छानबिन गरी संविधान, कानुन तथा निर्वाचन सम्बन्धी व्यवस्था अनुसार उम्मेदवारको योग्यता परीक्षण गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिए।
अयोग्य ठहरिएका उम्मेदवारको नाम सूचीबाट हटाई पुनः संशोधित नामावली सार्वजनिक गरिने उनले बताए। उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निवेदन दिन सक्नेछन्।
त्यसपछि अन्तिम उम्मेदवारको नामावली तथा निर्वाचन चिह्न सार्वजनिक गरिने र सोही आधारमा मतपत्र छपाइको काम अघि बढाइने घिमिरेले बताए।
आगामी फागुन २१ गते हुने निर्वाचनको लागि देशभर मंगलबार उम्मेदवारले मनोनयन दर्ता गराएका थिए। १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचन हुँदै छ।