ओली र बालेनको मनोनयनमा के-के देखियो फरक ? कसले बजाउँछ तबला ?

मंगलबार, माघ ६, २०८२

काठमाडौँ महानगरको मेयरमा बालेन्द्र साह निर्वाचित भएको केही समयदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओली र बालेनको सम्बन्ध एक अर्कालाई खुइल्याउने तहमै पुगेको थियो। 

बालेनले काठमाडौं महानगरको मेयर जित्दा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको सुन्दर फूल भन्दा अर्कै उपमा दिएका थिए। यद्यपि, दुई नेताले सम्बन्ध सुधारको प्रयास नगरेका होइनन् ।

आफूलाई भेट्न बालकोट पुगेका बालेनलाई तबला दिएर ओलीले सम्बन्ध सुधारको संकेत गरेका थिए । तबलाको सांगीतिक धुनले सम्बन्धको सुरमा काम गरेन । उनीहरूबीच आरोपप्रत्यारोप भइदियो । एमाले अध्यक्षको हैसियतमा हुँदा होस् वा प्रधानमन्त्री हुँदा पनि बालेन प्रति ओलीले टिप्पणी गरिरहे, अनि बालेनले थप रोष प्रकट गरेर आक्रोश पोखिरहे । कतिपय अवस्थामा सडकमा पनि बालेन र एमालेबीच भिडन्त भयो । 

न्युरोड सडक विस्तार होस् वा प्रशासकीय अधिकृत सरुवामा होस् ओली र बालेनबीच आरोपप्रत्यारोप र प्रतिष्ठाको लडाइँ भएको थियो । जेन–जी विद्रोहपछि सम्बन्ध झन् तिक्त बनेको थियो । त्यहीकारण, बालेन एमाले अध्यक्ष ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न झापा ५ गएको  देखिन्छ । 

राजनीतिक विश्लेषकले यसलाई प्रतिशोधको राजनीतिको रूपमा अर्थ लगाइरहेका छन् । त्यसैले,  झापा ५ लाई अहिलेको चुनावको इपिसेन्टरको रूपमा व्याख्या गरिएको छ । सबैको चासो नै 'बा' र बालेनको चुनावी प्रतिस्पर्धामा देखिएको छ ।

ओलीको लामो विरासत रहेको झापा बालेनका लागि नौलो हो । तर नयाँ पुस्ताले खोजेको रुपान्तरणको साहस र ऊर्जा बोकेर गएका छन् बालेन । झापाको राजनीतिक अवस्थिति र खेलोफड्को भने बालेनका लागि त्यो ऊर्जाभन्दा बढ्ता बोझिलो  बन्ने खतरा पनि रहेको छ । त्यसमा पनि दुवै जना अहिले भावी प्रधानमन्त्रीको उम्मेदवार पनि हुन् । त्यसकारण पनि यो चुनावी प्रतिस्पर्धालाई निकै रोचक र  अर्थपूर्ण रूपमा हेरिएको छ । 

संसदीय चुनावमा आठौँपटक उम्मेवार बनेका ओलीका लागि यसपटक बालेन अहिलेसम्मकै कडा प्रतिस्पर्धी बन्नसक्ने देखिन्छ । २०६४ मा तत्कालीन माओवादी उम्मेदवार विश्वदीप लिङदेनसँग पराजित भएका ओली त्यसअघि र पछिका बाँकी ६ वटा चुनावमा जित हासिल गरेका थिए ।

त्यसो त, फागुन २१ को चुनावमा पनि ओलीले बालेनलाई ३० हजारभन्दा बढी मतान्तरले पराजित गर्ने दाबी गरेका छन् । २०७९ को चुनावमा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डब अधिकारीलाई २९ हजारभन्दा बढी मतान्तरले पराजित गरेको स्मरण गर्दै मंगलबार उम्मेदवारी दर्ता गर्ने क्रममा पत्रकारहरूमाझ ओलीले भने, ‘अघिल्लो चुनावको मतपरिणाम तपाईंहरूलाई थाहै छ । डबलभन्दा बढी मत ल्याएर मैले चुनाव जितेको थिए । योपटक पनि २९–३० हजारभन्दा बढी भोटको फरकमा मैले चुनाव जित्छु ।’

बालेनभन्दा १ घण्टा पछि उम्मेदवारी दर्ता गराउन पुगेका ओलीको चुनावी र्‍याली अघिल्ला दुई चुनावमाभन्दा सामान्य थियो । तर, बालेन ठूलो र्‍यालीसहित उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचनको कार्यालय दमक नगरपालिका–८ स्थित कृषि भवन पुगेका थिए । रास्वपा कार्यकर्ता तथा समर्थकहरूको ठूलो भिडका कारण बालेनलाई करिब एक किलोमिटर सडक पार गर्न झण्डै ४५ मिनेट लागेको थियो । पञ्चेबाजासहितको बालेनको चुनावी र्‍यालीले दमकको ६ लेन सडक पूरै ढाकेको थियो । समर्थक, कार्यकर्ता र सञ्चारकर्मीहरूले पटकपटक आग्रह गरे पनि बालेनले उम्मेदवारी दर्ता अघि र पछि कुनै प्रतिक्रिया जनाएनन् । 

दुई ‘हेभीवेट’ उम्मेदवार चुनावी आमनेसामने हुँदा नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाएका तामाङलाई झापा–५ मा ओली र बालेनपछिका तेस्रो बलियो उम्मेदवारको रूपमा हेरिएको छ ।

पछिल्ला दुई चुनावमा लगातार निकटतम् प्रतिद्वन्द्वी बनेको कांग्रेसले यसपटक स्थानीय महिला नेतृ मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ । आगामी चुनावका लागि झापा–५ मा १५ दल र ९ स्वतन्त्रसहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन् । तीमध्ये ९ हजार ९० नयाँ मतदाता थपिएका हुन् ।  

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्