सोसल मिडिया
युनिकोड
निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदभन्दा आत्मसम्मान ठूलो हुने बताएका छन्। प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएर फर्किएलगत्तै बुधबार साँझ ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालेको ११५ दिन पूरा भएको जानकारी दिँदै घिसिङले पदमा नरहे पनि देश र जनताको सेवामा सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
‘यो मन्त्रीको पदबाट भर्खरै राजीनामा दिएर आएको छु,’ उनले भने, ‘कुर्सीभन्दा माथि आत्मसम्मान हुन्छ। पद बाहिर रहेर पनि देश र जनताको लागि काम गर्छु।’
सो अवसरमा उनले आफ्नो राजनीतिक आबद्धता र पछिल्लो समय चलेका हल्लाहरूबारे पनि स्पष्टीकरण दिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता र सहमतिको विषय हालसम्म कार्यान्वयनमा नआएको उनले प्रस्ट पारे।
आफू कुनै दलको सदस्य नरहेको दाबी गर्दै उनले भने, ‘मेरो समर्थन रहे पनि मैले हालसम्म कुनै पार्टीको सदस्यता लिएको छैन।’