प्रधानमन्त्री सुशीलाले झण्डा र डण्डा त्याग्न कुन-कुन मन्त्रीलाई दिईन् निर्देशन ?

मंगलबार, पुस २२, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले चुनाव लड्ने तयारी गरेका मन्त्रीहरूलाई तत्काल पद छोड्न भनेकी छिन् । सोमबार बसेको नियमित मन्त्रिपरिषद्को बैठकमा बोल्दै कार्कीले चुनाव लड्न चाहनेहरूले मार्गप्रशस्त गर्न आग्रह गरेकी हुन् । 

स्रोतका अनुसार प्रधानमन्त्रीले व्यक्तिगत रूपमा नामै तोकेर नभने पनि मन्त्रिपरिषद् बैठकमा सामूहिक आग्रह गरेकी हुन् । उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब यता (मन्त्रीमा) बसिरहन उचित हुँदैन । चुनाव लड्न चाहनेले त्यसको तयारीमा जाँदा हुन्छ । मार्गप्रशस्त गर्नुस् ।’

हाल सरकारमा कुलमान घिसिङ रास्वपाका उपसभापति बनिसकेका छन् । उनी रास्वपा प्रवेश गर्नुअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए । तर, मन्त्री हुनुपूर्व उनी कुनै राजनीतिक दलमा आबद्ध थिएनन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोकप्रिय काम गरेर जनतामाझ चर्चित बनेका थिए ।

उनको त्यही प्रसिद्धि देखेर कार्कीले भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । तर, घिसिङ राजनीतिमा सक्रिय भएसँगै सरकारमा बस्न नैतिक रूपमा गाह्रो हुने तर्कसहित सरकार छोड्न चौतर्फी दबाब बढे पनि उनले राजीनामा गरेका छैनन् । 

त्यस्तै सञ्चारमन्त्री जगदीश खरेल पनि मन्त्री बन्नुअघि लोकप्रिय सञ्चारकर्मी थिए । नागरिक सरकारमा स्वतन्त्र व्यक्तिको हैसियतमा सरकारमा गएका उनी एकाएक राजनीतिक दलमार्फत राजनीतिमा होमिने तयारी गरेका छन् । ललितपुर– २ बाट निर्वाचनमा उम्मेदवार बन्ने पक्कापक्की भएसँगै उनीमाथि समेत सरकार छाड्ने दबाब छ । 

त्यस्तै खेलकुदमन्त्री बब्लु गुप्ता घिसिङसँगै रास्वपा प्रवेश गरेका छन् । उनीसमेत सक्रिय राजनीतिमा होमिने भएपछि ‘नागरिक सरकारमा दलका मन्त्री’ भनेर आलोचना बढेको छ । यही आलोचनाका बीच प्रधानमन्त्री कार्कीले तीन जना मन्त्रीलाई लक्षित गर्दै सोमबारको मन्त्रिपरिषद्को बैठकमा सरकार छोड्न दबाब दिएकी हुन् । 

कार्कीले प्रधानमन्त्री नियुक्तीलगत्तै दिएको अन्तर्वार्तामा आफूसँग सहभागी भएका मन्त्रीहरू कुनै पनि दलका नहुने स्पष्ट पारिसकेकी थिइन् । उक्त सार्वजनिक अभिव्यक्तिविरुद्ध मन्त्रीहरू नै गएपछि कार्कीलाई नैतिक संकट निम्तिएको छ । हाल १५ सदस्यीय मन्त्रिपरिषद् छ । तीन मन्त्रीले छोडेको खण्डमा क्याबिनेट १२ सदस्यीय हुनेछ। त्यस्तै पाँच मन्त्रालय मन्त्री बिहिन हुनेछन्। कुलमानले तीन मन्त्रालय चलाईरहेका छन्। 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्