सोसल मिडिया
युनिकोड
मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध जबर्जस्ती करणी कसुरमा मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । उनलाई एमाले अध्यक्ष केपी ओलीले नाटकीय शैलीमा प्रदेश प्रमुख नियुक्त गरेका थिए। झाको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामकृष्ण खड्काको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
गत साउन १४ गते जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् । अहिराजविरुद्ध नयाँ बानेश्वरीकी २३ वर्षीया युवतीले जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीपछि अहिराज गत ४ साउनमा पक्राउ परेका थिए । करिब नौ दिनको अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौँले अहिराजविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । २३ वर्षीया युवतीले आफूलाई अहिराजले बानेश्वरस्थित डेरामा आएर घाँटी र मुख थिचेर बलात्कार गरेको दाबी गरेकी छन् ।
अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार अहिराजले ४ जेठ ०८१ मा युवतीलाई बलात्कार गरेका थिए । त्यसपछि उनले घटना सार्वजनिक नगर्न ज्यान मार्ने धम्की दिएका थिए । बलात्कृत युवतीले प्रहरीसमक्ष दिएको बयानअनुसार अहिराजले पैसा र पावर हुनेको कानुन रहेको भन्दै मुख थुनेर बलात्कार गरेका थिए ।