श्रीमतीको जन्मदिनकै दिन रविले पोखरा पुगेर सहकारी ठगीको तारिख बुझे 

बुधबार, पुस १६, २०८२

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने बुधबार जिल्ला अदालत कास्की पुगेका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २०८१ कात्तिक २ गते काठमाडौँबाट  पक्राउ परेका उनी पुस २५ गते ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

यसैबीच पोखरा पुगेपछि रवि भावुक भएका छन्। उनले फेरि आफ्नी पत्नी निकिता पौडेल लामिछानेको जन्मदिनकै दिन आज कास्की जिल्ला अदालत भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘मलाई सम्झना छ- अघिल्लो वर्ष आजकै दिनमा तिम्रो जन्मदिनमा मलाई हिरासतबाट यही कास्की जिल्ला अदालतमा ल्याइएको थियो। थुनुवाको रूपमा अदालत बाहिरको यही गोलघरमा सबैको आँखा छलेर फटाफट दियो बाली दही खुवाएर मैले तिमीलाई जन्मदिनको शुभकामना दिएको थिएँ। ठिक एक वर्षपछि आज फेरि तिम्रो जन्मदिनकै अवसरमा हामी यही कास्की जिल्ला अदालतमा नै तारिख धाउन उपस्थित हुनुपरेको छ। गत वर्ष प्रहरी साथीहरूको आँखा छलेर १ मिनेटमा तिम्रो जन्मदिन यही गोलघरमा मनाइएको थियो। आज थोरै स्वतन्त्रता छ तर लडाइ बाँकी नै छ। हर लडाइँमा हिम्मतसाथ उभिने तिमीलाई जन्मदिनको अनेकौँ शुभकामना !’

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्