सोसल मिडिया
युनिकोड
विद्यालय निरीक्षक (विनि)बाट प्रशासन सेवाको उपसचिव र सहसचिव हुँदै सचिव भएका राजकुमार श्रेष्ठले पहिलो पटक मन्त्रालय चलाउन पाएका छन् ।
सचिव भएको चार वर्ष घर्किएपछि उनले मन्त्रालयको सचिव हुने अबसर पाएका हुन् । शुक्रबार बसेको क्याविनेटले उनलाई गृहसचिव बनाएको हो।
२०५३ सालमा विद्यालय निरीक्षकबाट सरकारी सेवामा प्रवेश गरेका राजकुमार श्रेष्ठ प्रशासन सेवा सामान्य प्रशासन समूहको खुला प्रतिस्पर्धाबाट उपसचिव हुँदै सहसचिव भएका थिए। २०६९ सालमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेका राजकुमारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवबाट गृहमन्त्रालय सारिएको हो।
कर्णाली प्रदेशको प्रमुख सचिव, लोक सेवा आयोगको सचिव हुँदै राजकुमार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव बनेका थिए। २०७८ भदौमा सचिवमा बढुवा भएका गोरखाली राजकुमार २०८३ भदौमा अनिवार्य अवकाशमा जाँदैछन्।
राष्ट्रपति कार्यालयको सचिवबाट श्रम मन्त्रालय सरुवा गरिएका डा. दिपक काफ्ले पनि विद्यालय निरीक्षक हुँदै प्रशासनतर्फ आएर सचिव बन्न सफल भएका हुन्।२०५५ सालका विद्यालय निरीक्षक धनकुटा मुर्तीढुंगाका काफ्ले शिक्षा कै उपसचिव हुँदै अपाङ्ग कोटाबाट २०६९ सालमा प्रशासन सेवाको सहसचिव भएका थिए।
उपराष्ट्रपति कार्यालयको सचिवबाट युवा मन्त्रालयको सचिवमा सारिएका लोकनाथ पौड्यालले पनि पहिलो पटक मन्त्रालयमा सरुवा हुने अवसर पाएका छन् । मधेश प्रदेशको प्रमुख सचिवबाट सीधै कर्णाली प्रदेश लगिएका उनी उपराष्ट्रपति कार्यालय हुँदै खेलकुद मन्त्रालय भित्रिएका हुन् ।