कांग्रेसले कहिल्यै अवसर नपाएकालाई खोजीखोजी समानुपातिक उम्मेदवार खडा गर्ने

आइतबार, पुस १३, २०८२

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ नयाँलाई अवसर दिने भएको छ । गत बुधबारदेखि जारी बैठकमा समानुपातिकतर्फको बन्दसूची तयार पार्ने काम अझै सकिएको छैन । 

यसअघि अवसर नपाएकाहरूलाई समेटेर बन्दसूची तयार पार्ने गृहकार्यमा जुटेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई प्रदेशगत रूपमा समूह विभाजन गरी छलफल चलाइरहेको छ । प्रदेशगत छलफलमा केन्द्रबाट प्रतिनिधित्व गर्ने पदाधिकारीको नेतृत्वमा प्रदेश सभापतिसहित उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समितिका सदस्यहरू सहभागी छन् । 

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची पेस गर्न सोमबारसम्मको समय तोकेको छ । यसअघि बन्दसूची पेस गर्ने समय एक हप्तापछि सार्न गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेपछि कांग्रेस छलफलमा जुटेको हो । बन्दसूची तयार पार्नका लागि बुधबारदेखि सुरु भएको कार्यसम्पादन समिति बैठक अझै टुंगोमा पुग्न सकेको छैन ।

"हामी प्रदेशगत आधारमा निरन्तर छलफल गरिरहेका छौँ । आकांक्षीहरूको सम्बोधन गर्नुपर्ने र प्राविधिक रूपमा पनि मिलाउनुपर्ने हुँदा अझै हामी सूची टुंग्याउने तहमा पुगिसकेका छैनौँ," सुदूरपश्चिम प्रदेशको सूची तयार पार्न छलफलमा रहेका सहमहामन्त्री बद्री पाण्डेले भने, "हामीले समानुपातिकतर्फ नयाँलाई अवसर दिने भनेका छौँ । प्राविधिक रूपमा मिलाएर सम्भवत भोलि मात्र बन्दसूची तयार पार्न सक्छौँ ।"

संस्थापन पक्षले प्रदेशगत रूपमा सात नेतालाई जिम्मेवारी दिँदै आफ्नो पक्षको प्रारम्भिक सूची तयार पारेको जनाएको छ । उसले संस्थापनइतर पक्षबाट आउने सोची कुरिरहेको जनाएको छ । तर संस्थापनइतर पक्षले आफ्ना उम्मेदवार प्रस्तुत गरिनसकेको संस्थापन पक्षको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्