कांग्रेसलाई फागुन २१ गते हुने संसदीय चुनाव लागिसकेको शेखरको ठहर

सोमबार, पुस ७, २०८२

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन् ।

‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आज विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता डा कोइरालाले आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन केन्द्रीय समितिले निर्णय गरिसकेको जानकारी दिए ।

नेता डा कोइरालाले सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षा, जघन्य अपराध गरेका पाँच हजार फरार कैदी पक्राउ एवं लुटिएका हातहतियार बरामद गरी प्रहरीको मनोबल उठाउने कार्य गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को कुनै विकल्प नभएकाले तोकिएको समयमा सम्पन्न गर्न सरकारले आफ्नो कार्य गर्नुपर्छ ।’

सम्पूर्ण राजनीतिक दलका युवापुस्तालाई स्थानीय निकायमा ४०, प्रदेशमा ३० र सङ्घमा २० प्रतिशत प्रतिनिधित्व गराएमा मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शीता र जबाफदेहिता कायम हुनसक्ने उनको भनाइ थियो । नेता डा कोइरालाले सामुदायिक विद्यालयको शिक्षालाई अब्बल बनाउन शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्ने धारणा राखे । उनले विगतको सरकारले बजेट वितरणमा भेदभावका कारण विराटनगर महानगरपालिका अन्यभन्दा पछाडि परेको आरोप लगाए ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्