कैलालीको सिडिओबाट अढाइ महिनामै नवलपरासी खेदिएका लम्साललाई दुई महिनामै धपाईयो

आइतबार, पुस ६, २०८२

निर्वाचन गराउने र सुशासन कायम गराउने मुख्य अभिभारा सहित जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले एकै पटक पाँच दर्जन सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को पुस ३ गते बिहीबार बसेको बैठकले ६० सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो । 

कर्मचारी सरूवा स्वाभाविक भए पनि कस्ता कर्मचारीको कति अवधिमा सरूवा गरियो त्यसले सुशासन र कुशासनको संकेत गर्ने गर्छ। जसरी जति सहसचिवको सरुवा जुन विधि बाट गरियो त्यसले राम्रो संकेत भने पटक्कै गरेको छैन।

चुनावी सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले दुई महिना अघि सिडिओ बनाएर पठाएका सहसचिव कृष्णप्रसाद लम्सालको सरुवा भएको छ । लम्साललाई नवलपरासीको सिडिओबाट हाजिर भएको दुई महिना पनि नपुग्दै हुत्याईएको हो। उनलाई गण्डकी प्रदेशमा धपाईएको छ। 

लम्सालको नवलपरासी बसाई मात्र छोटो चाँही होइन। उनलाई यस अघि पनि अढाइ महिना नपुग्दै कैलालीको सिडिओबाट नवलपरासी पठाईएको थियो। गत २४ साउनमा कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनापछि तत्कालीन सीडीओ गोगनबहादुर हमाललाई मन्त्रालय तानेर उनको स्थानमा लम्साललाई कैलाली लागिएको थियो। कैलालीबाट उनलाई नवलपरासी (बर्दघाट–पूर्व सुस्ता) पठाएर त्यहाँका हिरालाल रेग्मीलाई कैलाली पठाईएको थियो। रेग्मीको भने सरुवा भएको छैन। 

लम्सालले दाङ्गमा पनि सिडिओ हुने मौका पाएका थिए। तनहुँको व्यास नगरपालिका–८ का स्थायी बासिन्दा लम्साल निजामती क्षेत्रमा स्पष्ट भिजन, निर्णय गर्न सक्ने, सेवा प्रवाह प्रभावकारी बनाउन सक्ने कुशल प्रशासकको रूपमा चिनिन्छन्। उनीसँग राष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वास्थ्य मन्त्रालयमा समेत रहेर काम गरेको अनुभव छ।
 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्