चुनावको मुखैमा आठ सिडिओ चलाएको सरकारले किन पठाएन नयाँ सिडिओ ?

आइतबार, पुस ६, २०८२

निर्वाचन गराउने र सुशासन कायम गराउने मुख्य अभिभारा सहित जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले एकै पटक पाँच दर्जन सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को पुस ३ गते बिहीबार बसेको बैठकले ६० सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो । 

कर्मचारी सरूवा स्वाभाविक भए पनि कस्ता कर्मचारीको कति अवधिमा सरूवा गरियो त्यसले सुशासन र कुशासनको संकेत गर्ने गर्छ। जसरी जति सहसचिवको सरुवा जुन विधि बाट गरियो त्यसले राम्रो संकेत भने पटक्कै गरेको छैन। साठी सहसचिवको होलसेलमै सरुवा गर्दा गृह मन्त्रालय अन्तर्गतका १३ सहसचिवको अन्य मन्त्रालयमा सरुवा भएको छ  । सरुवा हुनेमा ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)पनि छन् । चार दिन बिति सक्दा सिडिओ बिहिन भएका जिल्लामा नयाँ सिडिओ पठाईएको छैन। 

गृहबाट अन्य मन्त्रालयमा सरुवा हुनेमा सहसचिवहरू गोपालप्रसाद अर्याल, डा.टोकराज पाण्डेय, कल्पना श्रेष्ठ, सुनिता नेपाल, खिमबहादुर रायमाझी, नेत्रप्रसाद सुवेदी, कृष्णप्रसाद लम्साल, नारायणप्रसाद रिसाल, लीलाप्रसाद शर्मा, बन्धुप्रसाद बास्तोला, गोविन्दप्रसाद रिजाल, शंकरहरि आचार्य र धर्मेन्द्रकुमार मिश्र छन् ।

उनीहरूमध्ये डा.पाण्डे लमजुङ, श्रेष्ठ खोटाङ, नेपाल इलाम, सुवेदी सल्यान, नारायणप्रसाद रिसाल दोलखा, बास्तोला सिन्धुपाल्चोक, लम्साल नवलपरासी पश्चिम, र मिश्र बारामा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । त्यसका लागि जिल्लामा शान्ति सुरक्षा स्थापित गर्ने र निर्वाचनको वातावरण निर्माण गर्ने कामको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गर्छ । मन्त्रिपरिषद्ले नै एकैपटक ८ प्रमुख जिल्ला अधिकारीको सरुवा गरे पनि ४ दिनसम्म ती जिल्लामा नयाँ सहसचिवलाई जिम्मेवारी दिएर पठाएको छैन ।

गृहबाट ८ प्रमुख जिल्ला अधिकारीसँग कारागार व्यवस्थापन विभागका महानिर्देशन लीलाप्रसाद शर्मा र मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख गोविन्द रिजालको पनि सरुवा भएको छ भने अतिरिक्त समूह जगेडामा रहेका सहसचिवहरू आचार्य, अर्याल र रायमाझीको पनि सरुवा भएको छ ।

सरुवामा गृहबाट १३ सहसचिव बाहिरिँदा ७ सहसचिव भित्रिएका छन् । बिहीबारकै सरुवामा अन्य मन्त्रालय र निकायबाट उमेश ढुंगाना, शान्तिराज प्रसाई, लक्ष्मीप्रसाद पौडेल, मदन कोइराला, रेखा कँडेल, निश्चलराज पाण्डे र राजन पौडेल भित्रिएका छन् । उता वैदेशिक रोगजार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईको पनि सरुवा भएको छ। त्यहाँ पनि नयाँ डिजी खटाईएको छैन। 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्