जेनजीका शिक्षा मन्त्रीले भ्रष्टाचार हटाउन योग र ध्यानलाई समाजमा फैलाउने

आइतबार, पुस ६, २०८२

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्न सक्ने बताएका छन् ।

विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएकाले मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताए । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने उनको भनाइ छ ।

भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्न सक्ने उनको भनाइ छ । योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनको लागि सबैले प्रयास गर्नुपर्ने उनले बताए ।

योग, ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्‍याउन आफूले निर्देशन दिइसकेको पुनले बताए । योग र ध्यान पढाउने नभइ गराउने विषय भएको र विद्यालयमा शुक्रबारको दिनलाई पढाउने नभइ अतिरिक्त क्रियाकलप गर्ने दिनको रूपमा अघि बढाउनेबारे कुरा उठाएको उनको भनाइ छ ।

यस्तो छ मन्त्री पुनको भनाइ :

मनलाई शुद्ध गर्नुपर्ने ठूलो आवश्यकता छ । मन शुद्ध भएन भने मनमा अनेकौँ किसिमका लोभ, लालसा, घमण्ड धेरै चिजहरू बढ्छन् । त्यो बढ्यो भने भ्रष्टाचार मौलाउने एउटा राम्रो माध्यम बन्छ । जति पनि भ्रष्टचारीहरू छन् भन्छौँ हामी उनीहरूको मन भ्रष्ट छ, शुद्ध छैन । उनीहरूमा घमण्ड छ, लोभ लालसा छ । यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना, भ्रष्टाचारीहरू जुन छ, यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो । त्यसको औषधि बनेको पनि छैन । बन्दा पनि बन्ने छैन । तर, त्यसको औषधिको रूपमा योग, ध्यानलाई हामीले हाम्रो समाज समाजमा फैल्याउन सक्नुपर्छ । टोलटोलमा फैल्याउन सके भ्रष्टाचार हट्ने ठूलो सम्भावना देखेको छु । भ्रष्टाचारीहरूको मनलाई पनि घमण्डीहरूको मन, लोभीपापीहरूको मनलाई पनि शुद्ध गर्ने एउटा माध्यमको रूपमा देखेको छु । योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनको लागि सबैले प्रयास गरौँ । योग, ध्यान गर्ने कुराहरूलाई पनि विद्यालय विद्यालयमा पुर्‍याउन पनि अतिरिक्त क्रियाकलापको माध्यमबाट हरेक विद्यालयमा पुर्‍याउने काममा लागेको छु । अतिरिक्त क्रियाकलापमध्ये योगलाई राख्न पनि निर्देशन दिइसकेको छु । योग विषय भनेको पढाउने कुरा होइन, गराउने कुरा हो । विद्यालयमा शुक्रबारको दिनलाई पढाउने होइन, अतिरिक्त क्रियाकलपअन्तर्ग अघि बढाउने कुरा उठाएको छु । 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्