सोसल मिडिया
युनिकोड
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ। ८० वटा भोटिङ मेसिनमार्फत एमाले महाधिवेशन प्रतिनिधिले भोट हालिरहेका छन्।
मेसिन भए पनि मतदान गर्न एकजनलाई आधा घण्टासम्म लाग्ने गरेको मतदाताले बताएका छन्। यसैबीच एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले ढिलोमा आज राति १२ बजेसम्म मतदान सम्पन्न हुने आकलन गरिएको जानकारी दिए। रातको १२ बजेलाई भूतले खाजा खाने समय भनेर नेपाली समाजमा भन्ने गरिएको छ।
एमालेको जारी निर्वाचनमा ८० वटा भोटिङ मेसिनको व्यवस्था गरिएको छ। एउटा मतदाताले ३ सय हारहारी उम्मेदवारका लागि मतदान गर्नुपर्छ। जारी मतदानबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्।
अध्यक्षका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलका दुई प्यानलका गरी ६ सय ५० जनाजति उम्मेदवार छन्। मतदान गर्न धेरै समय लागे पनि गणनामा धेरै समय लाग्दैन। मेसिनमा मतदान हुने भएकाले ८० वटा मेसिनमा भएको मत संख्या जोड्दा, निर्वाचन आयोगले प्रमाणीकरण गर्दा ४-५ घण्टा समय लाग्न सक्छ। यसो हुँदा भोलि बिहानसम्ममा नतिजा सार्वजनिक हुने अड्कल गरिएको छ।