सोसल मिडिया
युनिकोड
चल्तीको प्रभु बैंकमा भएको बदमासी किस्ता-किस्तामा बाहिर आईरहेको छ। जनताको निक्षेपमा मनलागी गर्दै आएका उक्त बैंकका सदाबहार प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको हातमा हत्कडी लगाएपछि अनियमितताको पर्दा झन् खुल्दैछ।
सीईओ शेरचन, डीसीईओ मनिराम पोखरेलसहित ४ जना कर्मचारी र व्यवसायी गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरी सिआईबीले अनुसन्धान गरिरहेको छ । उनीहरु मात्र होइन बैंकको चिफ बिजनेस अफिसर रश्मी पन्त लगायत पनि अनुसन्धानमा तानिएका छन् । पन्तलाई पक्राउ गर्न सिआईबीले अदालतबाट पक्राउ पूर्जी पाई सकेको छ भने पन्त फरार छिन्।
जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रकाश (ओपी) पाण्डे र पन्तको हिमचिमले बैंकको १३ करोड स्वाहा हुने चरणमा पुगेको अर्को काण्ड पनि निस्किएको छ। सो काण्डको मतियारका रुपमा हरिकृष्ण भट्टचन पनि जोडिएका छन्। भट्टचन अशोक शेरचनका ससुरा हुन्।
जानकी मेडिकल कलेजको सेयर खरिद गर्नेहरु पनि उक्त काण्डमा जोडिने भएका छन्। २०७२ साल जेठ २२ गते काभ्रेको मादनकुडारी स्थायी घर भएका हरिमान लामाले १६ लाख कित्ता, काठमाडौं महानगरपालिका वडा नं. २१ घर भएका हरिकृष्ण भट्टचनले २९ लाख ५० हजार ८ सय ६० कित्ता र म्याग्दीको ओखरबोट स्थायी घर भएका धनबहादुर शेरचनले ८ लाख कित्ता जानकीको सेयर स्वामित्व किनेको पाईएपछि उनीहरु पनि तानिने भएका हुन्।
यसअघि ३ वटा आरोपमा अनुसनधान सुरु गरिरहेको प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआईबी)ले थप एक आरोपमा अनुसन्धान अगाडि बढाएको छ ।
पक्राउपुर्जी आएसँगै आइतबार पन्तलाई पक्राउ गर्न सीआईबीको टोली प्रभु बैंकको बबरमहलस्थित केन्द्रीय कार्यालयमा पुगेको थियो । ओमप्रकाश पाण्डेको नेतृत्वमा रहेको इन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेनरी साइन्स प्रालिले कलेज सञ्चालनको लागि जग्गा खरिद र सञ्चालन खर्चका लागि भन्दै २०७५ साउनमा लिएको १३ करोड रुपैयाँ कर्जा दुरुपयोगको सीआईबीले अनुसन्धान सुरु गरेको हो ।
सोही अनुसन्धानका क्रमममा जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे र बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्तविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो । बैंकका सीईओ शेरचनसहित पन्त समेतको मिलमतोमा पाण्डेको कम्पनीलाई प्रक्रिया पूरा नगरी कमसल धितोमा कर्जा दिएइको र उक्त कर्जा दुरुपयोग भएको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । यी बाहेकका अन्य केही डरलाग्दा घटनाको पनि अनुसन्धान भईरहेको सिआईबीले बताएको छ।